मानसिक सन्तुलन गुमाएका छोराको आक्रमणमा बुबाको मृत्यु, आमा गम्भीर घाइते

आइतबार, १६ कार्तिक २०८२

गुल्मी : गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा शनिबार पारिवारिक विवादका क्रममा छोराको आक्रमणबाट बुबाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २३ वर्षीय भोटबहादुर विकले आफ्ना ५० वर्षीय पिता धन विक र ४८ वर्षीया आमा दिलमाया विकमाथि धारिलो हतियार (हँसिया) र काठको मुङ्ग्रो प्रयोग गरी आक्रमण गरेका थिए।

घटनास्थलमै बुबाको ज्यान गएको छ भने आमाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते आमाको प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिए। उनकी अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै थप अनुसन्धानका लागि प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा अर्को टोली पनि परिचालन गरिएको हो।

आक्रमणपछि फरार हुन नसकेका भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन कमजोर रहेको पाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार