विराटनगर : लागुऔषध मुद्दामा जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका १ जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
कारागारका जेलर गौरव ढुङ्गेलले मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको जानकारी दिए ।
लागुऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका दर्जीको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मङ्गलवार साँझ मृत्यु भएको उनले बताए ।
उनका अनुसार ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि दर्जीलाई उपचारका लागि जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि असार ३ गते विराट शिक्षण लगियो ।
लामो समयदेखि उपचाररत दर्जीको स्वास्थ्य अवस्थामा सुधार भएन । उपचारकै क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको जानकारी कारागारले दिएको छ । लागुऔषध मुद्दामा कसुरदार ठहर भएका दर्जी २०८१ पुस ४ गतेदेखि कारागारमा थिए ।
उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको जेलर ढुङ्गेल बताउँछन् ।
प्रतिक्रिया