ताप्लेजुङमा वडाध्यक्षमाथि साङ्घातिक आक्रमण : थप उपचारका लागि बीएण्डसीमा ल्याइयो

शनिबार, ०७ भदौ २०८२

ताप्लेजुङ : जिल्लामा राजनीतिक गतिविधिपछि घर फर्कँदै गरेका एमाले नेता तथा आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आज साझ साङ्घातिक आक्रमण भएको छ।

जिल्ला कमिटीको बैठक सकेर तोक्मेडाँडा क्षेत्रमा फर्कँदै गर्दा पाँचदेखि सात जनाको समूहले वडाध्यक्ष सेन्दाङलाई निर्मम कुटपिट गरेको एमाले ताप्लेजुङले जनाएको छ।

आक्रमणबाट टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि ताप्लेजुङ जिल्ला अस्पतालले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा थप उपचारका लागि रेफर गरेको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले घटनापछि सेन्दाङको अवस्था गम्भीर भएकाले जिल्ला बाहिर उपचारका लागि पठाइएको बताए। उनका अनुसार आक्रमणकारीहरूको पहिचान गरी पक्राउ गर्न प्रहरीले व्यापक खोजी थालेको छ।

प्रहरीले आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने दाबी गर्दै घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार