तिजको रौनकले बजार रंगीन : चुरा–पोतेको व्यापार चम्कियो

आइतबार, ०८ भदौ २०८२

रस्मिता गिरी

काठमाडौँ : हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरूमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।

काठमाडौँ उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरूको भीड बढेको छ ।

उसो त बा¥हैकाल व्यस्त रहने यि बजारहरूका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरूमा महिलाहरूको बढी भीड देखिन्छ ।

पसलहरूमा कोही नयाँ पोते उन्न, कोही मेहेन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन् । साउन लागेसँगै हरिया, पहेँला, राता रङका चुरापोते किन्नेहरूको जमात बढेको छ ।

तिजका अवसरमा भने चुरा र पोते पसलहरू खचाखच देखिन्छन् । भनिन्छ चुरा–पोते लगाएर जब नारी श्रृंगारिएर व्रत बस्छिन् उनको मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास पनि छ । त्यतिमात्र नभई अहिले महिलाहरूले साडीसँग चुरा र पोतेको रगं मिलाउन पनि बजारमा खोज्न जाने गरेको देखिन्छ ।

बजारमा चुरा–पोते व्यापार व्यवसाय भने फस्टाएको छ । व्यापारीहरू तिज र विवाहको सिजनमा खुसी समेत हुने गरेका छन् ।

काठमाडौँ इन्द्रचोकमा ४५ वर्षदेखि पोतेको व्यवसाय गर्दै आएका अलिम मुदिमले हाल व्यापार सामान्य नै रहेको बताउँछन् ।

चीनबाट आयात हुने चुरापोतेको डिजाइन भने ग्राहकहरूकै सल्लाह अनुसार तयार गर्ने गरेको सुनाउँछन् । ‘टिकटकबाटै डिजाइनहरू आउँछन् । त्यसैबाट ग्राहकको सुझाव अनुसार डिजाइन बनाउँछौँ । बिहे र तिजको दुवै सिजनमा चुरापोतेको माग बढ्ने र विक्री समेत बढ्छ,’ उनले भने ।

अर्का व्यापारी महमद् मन्सुरले विगतमा जस्तो यसपालि व्यवसाय नभएको प्रतिक्रिया दिए । उनले एउटा पोतेको न्यूनतम मूल्य एकसय रुपैयाँदेखि सुरु भई ६ सयसम्म रहेको बताए ।

चुरापोते चीनबाट आयात भएपनि मालाका आइटमहरु भने युरोपबाट पनि आउने गरेको उनले सुनाए ।

‘चुरापोते पहिला जस्तो व्यापार व्यवसाय छैन् । पहिले व्यापार व्यवसाय ठिकै थियो अहिले खासै छैन् । पोतेको मूल्य एकसयदेखि ६ सय रुपैयाँ पर्छ । त्यो भन्दा माथिको नेपाली बजारमा खासै विक्री हुँदैन । तिजमा सिङ्गल पोते वा मालाहरू प्रयोग हुन्छ । विवाहको बेला छड्के र माइली तिलहरी बढी विक्री हुन्छ,’ उनले भने ।

त्यस्तै ४० बर्ष देखि चुरा तथा कस्मेटिकको सामग्रीको व्यापार गर्दै आएकी न्यूरोडकी पूर्णिमा दर्शनले तिजको बेलामा व्यापार व्यवसाय फस्टाएको प्रतिक्रिया दिइन् ।

उनले हिजोआज चुराको डिजाइनहरू टिकटिकबाटै आउने गरेको पनि सुनाइन । उनले चुराको मूल्य ५० देखि एक हजार रुपैयाँसम्मका विक्री हुने गरेको पनि बताइन् । चाडपर्वका बेला चुरा–पोते, धागो र टिका बढी विक्री हुने गरेको बताइन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार