काँग्रेसका युवा पुस्ता भन्छन् : केन्द्रीय समिति भङ्ग गरौँ, नीति र नेतृत्व परिवर्तन गरौँ

मंगलबार, २८ असोज २०८२

मनीषा बस्नेत,आकाङ्क्षा धामी

केन्द्रीय समिति बैठक मङ्गलवार बस्दै छ । विगत बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मङ्गलवारका लागि केन्द्रीय समिति बैठक आह्वान गरिएको हो ।

जेनजी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रूपमा उठिरहेको बेला बैठक बस्न लागेको हो ।

विशेषगरी काङ्ग्रेसभित्र मङ्सिरमा नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग तीव्र बनेको छ ।

यसै कारण सभापति शेरबहादुर देउवा चर्को दबाबमा परेका छन् । कार्यवाहक तोकी देउवालाई पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने र तत्काल महाधिवेशन गर्नुपर्ने माग बढ्दो छ ।

पार्टीका विभिन्न तहमा क्रियाशील युवा नेताहरूले भावी नेतृत्वका विषयमा फरक–फरक धारणा राखेका छन् ।


काङ्ग्रेसलगायत सबै भातृ सङ्गठन भङ्ग गर्नुपर्छ

काँग्रेसका युवा नेता एवम् लेखक लाओस् राईले नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै पछिल्लो घटनालाई काँग्रेसका लागि जोखिम र अवसर दुवै भएको बताए ।

उनले भने, “जेनजी घटनाले काँग्रेसलाई नयाँ चरणमा पुर्‍याएको छ । त्यसैले काँग्रेसले अब सचेत भएर गतिशील निर्णय लिनुपर्छ, जसले समाजलाई रूपान्तरण गर्न सकोस्।”

राईले सबैभन्दा पहिले भातृ सङ्गठन, उपसमिति लगायतका संरचना विघटन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, “काँग्रेसले आफ्नै केन्द्रीय समिति पनि भङ्ग गर्नुपर्छ । त्यसपछि मात्रै नयाँ पुस्ताको ऊर्जा र आकर्षण पार्टीमा आउँछ।”

उनले विशेष महाधिवेशनले समयसापेक्ष तरङ्ग ल्याउन नसक्ने र त्यो उपयुक्त विकल्प नभएको बताए ।

“यस्तो अवस्थामा पार्टी आन्तरिक खलबलमा अल्झिनु हुँदैन,” उनले भने, “केन्द्रीय समिति भङ्ग गरेर नयाँ पुस्तालाई अघि ल्याउनुपर्छ।”

राईका अनुसार, जेनजी आन्दोलनको ऊर्जालाई विचारसहित संस्थागत नगरे लोकतान्त्रिक गणतन्त्रलाई हानि पुग्ने खतरा छ ।

उनले चेतावनी दिए, “यो आन्दोलनमा ऊर्जा छ, तर विचारविहीन ऊर्जा खतरनाक हुन्छ । अतिवादले लोकतन्त्र नै समाप्त पार्न सक्छ।”

राईले आन्दोलनका क्रममा देखिएका हिंसात्मक व्यवहारलाई अस्वीकार्य बताउँदै भने, “कारबाहीका लागि नीति र नियम बनाउनु ठिक हो, तर घरमै गएर पिट्ने वा धम्की दिने कार्य गलत हो, त्यो रगतको आवेश मात्र हो।”

उनले २०६२ सालको आन्दोलनले संविधान र गणतन्त्र निर्माणमा खेलेको भूमिकाको स्मरण गर्दै अहिले पनि नेतृत्व परिवर्तनमार्फत जनताको सत्ता स्थापनातर्फ काँग्रेसले अघि बढ्नुपर्ने धारणा राखे ।


नीति र नेतृत्व तत्काल परिवर्तन आवश्यक

अर्का युवा नेता सुशील भट्टले पार्टीभित्र नीतिगत तथा संस्थागत सुधार तत्काल आवश्यक रहेको औँल्याए ।

नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै उनले भने, “कांग्रेस जनताको भाषा बोल्ने र परिवर्तनको नेतृत्व गर्ने दल हो ।

अहिलेको विषम परिस्थितिमा जनताले उठाएका एजेन्डा र संविधानका संवेदनशील विषयलाई काँग्रेसले अगाडि बढाउनुपर्छ।”

भट्टले सङ्घीयता, कार्यकारी प्रणाली, आन्तरिक नीति तथा नागरिकले उठाएको भ्रष्टाचारविरोधी आवाजलाई काँग्रेसले संस्थागत रूपमा आत्मसात् गर्नुपर्ने बताए ।

उनका अनुसार, “नेतृत्व र नीतिमा दुवैमा परिवर्तन आवश्यक छ ।”

भट्टले जेनजी आन्दोलनका क्रममा निधन भएका र घाइते भएकाहरूको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरे । साथै उनले भने, “सभापति पद व्यक्ति मात्र होइन, संस्था पनि हो । यदि सभापतिको स्वास्थ्यले साथ नदिए कार्यवाहक व्यवस्थाबाट पार्टीलाई अघि बढाउनुपर्छ, किनभने कांग्रेस बिरामी भयो भने राष्ट्र बिरामी हुन्छ।”

उनले सङ्गठन सुधारका सन्दर्भमा भातृ तथा उप–सङ्गठनहरू पुनरावलोकन गरेर नयाँ पुस्तालाई आकर्षित गर्ने गरी नवीकरण गर्नुपर्ने सुझाव दिए ।

भट्टका अनुसार, जेनजी पुस्ताले उठाएका मुद्दाहरू केवल युवा आन्दोलनको माग नभई समग्र राष्ट्रको आवाजका रूपमा आत्मसात् गर्नुपर्ने हो ।


देउवाले मार्ग प्रशस्त गर्नुपर्छ, विशेष महाधिवेशन जरुरी छ

युवा नेतृ एलिजा ढकालले पार्टीभित्र नेतृत्व, संरचना र नीति निर्णयमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको बताइन् ।

नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै उनले भनिन्, “अहिलेको अवस्था विकराल छ । काँग्रेसले जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आएको छ । त्यसको सुरुवात नेतृत्व परिवर्तनबाटै हुनुपर्छ।”

ढकालले नियमित महाधिवेशन अहिले सम्भव नरहेको र त्यसका लागि विशेष महाधिवेशन नै वैकल्पिक मार्ग रहेको बताइन् ।

उनका अनुसार, “४५ भन्दा बढी जिल्लाका कांग्रेस कार्यालयमा आगजनी भएको छ, सदस्यता डाटा अधुरो छ, त्यसैले नियमित महाधिवेशन सम्भव छैन ।”

विशेष महाधिवेशनको वैधानिकता काँग्रेसको विधानमै रहेको उल्लेख गर्दै उनले यसैलाई अहिलेको असामान्य परिस्थितिको समाधानका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखिन् ।

ढकालले सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै भनिन्, “देउवा लोकतन्त्रका लागि लड्नुभएको नेता हो, उहाँले भ्रममा परेर दुर्घटनामा पर्नु भएको हो । उहाँले निश्चित रूपमा मार्ग प्रशस्त गर्नुहुन्छ भन्ने विश्वास छ।”

उनले विशेष महाधिवेशनमार्फत युवाले सत्ता कब्जा गर्न खोजेको भन्ने आरोप अस्वीकार गरिन् ।
उनका अनुसार, “अघिल्लो महाधिवेशनमा देउवालाई जिताउने प्रतिनिधिहरू नै अहिले विशेष महाधिवेशनको पक्षमा छन् । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरू जोखिम लिएर अघि बढिरहेका छन्, त्यसैले सबैलाई मौका दिनुपर्छ।”

ढकालले देउवा विशेष महाधिवेशनप्रति सकारात्मक रहेको विश्वास व्यक्त गरिन् ।

काँग्रेसको केन्द्रीय समिति बैठक आज (असोज २८ गते) बस्दै छ, जसमा विशेष महाधिवेशनसम्बन्धी माग र सम्भावनाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार