सङ्खुवासभामा झारफुक गर्न गएका धामी बिरामीकै खुकुरी प्रहारबाट निर्ममतापूर्वक मारिए

बुधबार, ०५ कार्तिक २०८२

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ एक व्यक्ति धारिलो हतियारको प्रहारबाट मारिएका छन्। मृतक अन्दाजी ५५ बर्षका कर्णबहादुर कुमाल झारफुक गर्ने धामी रहेको खुलेको छ।

प्रहरीका अनुसार उनी बिरामी परेका २६ बर्षिय बिक्रम कुमाललाई झारफुक गर्न उनका घर पुगेका थिए।

विदेश (युएई) रोजगारीका क्रममा करिब ६ महिना बिताएर घर फर्किएका बिक्रम बिरामी भएपछि आमाले धामी कर्णबहादुरलाई बोलाएकी थिइन्। तर उपचारका लागि पुगेका धामी र बिरामी बीच केही समयमै विवाद चर्किँदै गएपछि घटनाले भयानक रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले भने,“बिक्रमले प्रारम्भिक बयानमा भनेका छन्— ‘हो, मैले हत्या गरेँ। मलाई रिस उठेपछि खुकुरी प्रहार गरें।’”

मंगलबार साँझ करिब ७ बजेतिर तुम्लिङटार विमानस्थलका सुरक्षागार्डले हत्या भएको जानकारी प्रहरीलाई दिएका थिए। त्यसपछि प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले तत्कालै घटनास्थल पुगेको र अभियुक्तलाई नियन्त्रणमा लिएको डिएसपी मैनालीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट रक्ताम्य अवस्थामा धामीको शव फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी योजनाविना क्रोधको आवेगमा हत्या गरिएको देखिए पनि, प्रहरीले यो घटनामा व्यक्तिगत रिसइबी वा अन्य कारण पनि जोडिएको हुन सक्ने बताएको छ।

“मृतक र आरोपी दुवै एकै गाउँका, आपसमा चिनजान भएका व्यक्तिहरू हुन्। पुरानो कुनै व्यक्तिगत विवाद पनि हुन सक्ने देखिएको छ,” डिएसपी मैनालीले भने, “तर अहिलेका लागि मुख्य आधार झारफुककै क्रममा भएको विवाद नै हो। थप अनुसन्धान भइरहेको छ।”

स्थानीयका अनुसार मृतक धामी कर्णबहादुर गाउँमा झारफुक गर्ने मान्य व्यक्ति थिए। उनका झारफुक र पुजापाठका कारण गाउँका धेरै मानिसहरू नियमित सम्पर्कमा आउँथे। तर मंगलबारको यो घटनाले गाउँ नै स्तब्ध बनेको छ।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गरेको र शवलाई पोस्टमार्टमका लागि खाँदबारी अस्पताल पठाइएको जनाएको छ। यता स्थानीयले भने कर्णबहादुर र विक्रम दुवैले मादक पदार्थ सेवन गरेको कारण सामान्य विषयमै बिवाद हुँदा हत्या गरेको दाबी गरेका छन । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार