शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

बुधबार, ०५ कार्तिक २०८२

काठमाडौं। संयुक्त राष्ट्रसंघ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको संख्या २५ प्रतिशसम्म कटौती गर्दैछ। त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्नेछ।

युएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको संख्या पनि कम हुनेछ। यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ।

विश्वका १२० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सैनिक युएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि अहोरात्र खटिरहेका छन्।

शान्ति स्थापनार्थ सैन्य परिचानका लागि युएनको मुख्य आर्थिक स्रोत भनेको सदस्य मुलुकबाट प्राप्त तोकिएको निश्चित सहयोग हो। केही सदस्य मुलुकबाट प्राप्त हुने आर्थिक सहयोग समयमै नआएको र केहीबाट उपलब्ध हुने भएपछि बजेट अभावमा शान्ति सैनिकको संख्या कटौती गर्न लागिएको हो।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजंग थापाले हाल परिचालित शान्ति सैनिकको संख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताए।

उनले भने, “अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्त्वपूर्ण उपाय र यन्त्रका रूपमा नेपाली शान्ति सैनिक छ। राष्ट्रसंघबाट शान्ति सैनिकको संख्या कटौती भए पनि नेपाल भने धेरै शान्ति सेना पठाउने र योगदान गर्ने सूचीमा अग्रणी भूमिकामै रहन्छ।”

राष्ट्रसंघका मिसनमा अवश्यकता अनुरूप फौजको संख्या थपघट हुने गरेको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण शान्ति सेनाको संख्या कटौती गर्न लागेको हो। राष्ट्रसंघले फौजको संख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ।

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्। हाल ५३८ म्हिला सैनिकसहित पाँच हजार ८१९ नेपाली शान्ति सेनामा परिचालित छन्। नेपाली शान्ति सैनिकले विश्वमै सहासिक, अनुशासित र व्यावसायिक ‘च्याम्पियन’ सैनिकका रूपमा आफ्नो परिचय बनाइसकेको छ।

यसअघि निलो हेलमेट धारी एक लाख ५९ हजार ६६४ नेपाली शान्ति सैनिकले राष्ट्रसंघको विश्वशान्ति अभियानमा योगदान पुर्याइ नेपाललाई सोही सङ्ख्यामा शान्ति पदक दिलाउन सफल भएको इतिहास छ। त्यस क्रममा विश्वमा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका ४४ वटा मिसनमा काम गर्ने सिलसिलामा ७४ जना सैनिकको बलिदानी भएको छ भने ७५ जना गम्भीर घाइते छन्।

युद्धकार्य निर्देशक मनोज थापा भन्छन्, “मिसन आवश्यकता अनुरूप नयाँ स्थापना हुने र सञ्चालनमा रहेका मिसन बन्द हुने नियमित प्रक्रिया हो। आवश्यकताकै आधारमा मिसनमा फौज थपिने र कटौती हुन्छन्। यसपटक भने बजेट अभावकाकारण शान्ति सैनिकको संख्या घटाउनुपर्ने बाध्यता छ।”

नेपाल राष्ट्रसंघको सदस्य राष्ट्र हुनुका नाताले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकोछ। बजेट कटौती हुँदा नेपाली शान्ति सैनिकलाई मात्र होइन, समग्रमा सबै शान्ति फौज पठाएर योगदान गर्ने राष्ट्रलाई असर पर्नेछ।

राष्ट्रसंघले १५ प्रतिशतसम्मको बजेट अभावलाई सम्बोधन गर्न फौजको संख्या घटाउन लागेको जानकारी प्राप्त भएको छ। कटौती गरिने फौज समानुपातिक आधारमा हुनेछ।

विश्व शान्ति स्थापनाकार्यमा नेपालको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ। संयुक्त राष्ट्रसंघको छातामुनि रही नेपाली सेनाले विश्वमै जोखिम युक्तकार्यका लागि प्राप्त जिम्मेवारीलाई सहजै स्वीकार गरी इमान्दार, सहासिक, बहादुरी र व्यावसायिक सेनाको परिचय दिलाउन सफल भएको छ। नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भइ आएमा एकै पटक १० हजारको संख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ।

शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो। राष्ट्रसंघमा फौज उपलब्ध गराएवापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत हो। फौज कटौती भएमा त्यसमा केही संकुचन आउने सम्भावना रहन्छ।”

परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभएपनि परोक्षरूपमा सहयोग पुग्दै आएको छ। नेपाली शान्ति सैनिकको संख्या कटौती भएको खण्डमा कूटनीतिक र आर्थिक हिसाबले केही हदसम्म नेपालाई पनि असर पर्नेछ। खासगरी विदेशी मुद्रा आर्जन गर्ने शान्ति सेना महत्त्वपूर्ण श्रोत रहीआएको छ।

अहिले शान्ति सैनिक ठूलो संख्यामा पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रस्थान (पहिलो) नम्बरमा छ। संयुक्त राष्ट्रसंघका अनुसार समानुपातिक हिसाबले फौजको संख्या कटौती हुँदा पनि नेपालको हालको स्थान कायम नै रहने छ। शान्ति सेनामा फौजको संख्या कटौतीलाई सेनाले योजनाबद्ध रूपमा कार्यान्वयन गर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार