कोशी प्रदेशका १६ विद्यालयबीच हुने डीआईजीपी रनिङ फुटबल प्रतियोगिताको तयारी पूरा

सोमबार, ०७ पुस २०८२
पत्रकार सम्मेलन

धरान :  नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी विद्यालय धरानले आगामी पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सातौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो।


डीआईजीपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको र यस वर्ष पुनः सुरु गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायूले जानकारी दिए । उनका अनुसार, “मित्रताको लागि निष्पक्ष खेल” भन्ने नारासहित आयोजना हुने प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलकुदको प्रवद्र्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु रहेको छ । 

 प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुनेछन् । सहभागी विद्यालयहरूमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, डिपोट सेकेण्डरी स्कुल, सैनिक आवासीय महाविद्यालय, माउन्ट हर्मन एकेडेमी, सिद्धार्थ सेकेण्डरी स्कुल, निधी सेकेण्डरी स्कुल, दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर, वाल्मिकी एजुकेशन फाउण्डेसन बिर्तामोड, आदर्श इङ्लिस स्कुल कानेपोखरी, सफल सिद्धार्थ एकेडेमी सुन्दरहैचा, पिनाकल ज्ञान मन्दिर कानेपोखरी, बाल्मिकी मेमोरियल बोर्डिङ स्कुल पथरीशनिश्चरे, ज्ञानोदय माध्यमिक विद्यालय धरान, भरौल विद्या मन्दिर बराहक्षेत्र, नेपाल पुलिस स्कुल धरान (ब्लु) र नेपाल पुलिस स्कुल धरान (रेड) रहेका छन्।


नेपाल प्रहरी बिद्यालय धरानको फुटबल खेल मैदानमा प्रतियोेगिता सञ्चालन हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीको सहभागी हुने पाउने छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी विद्यालय टोलीको मार्चपास, तेक्वान्दो पुम्से प्रदर्शन, झाँकी प्रदर्शन तथा सांस्कृतिक नृत्य लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिनेछन।

यसैगरी, प्रतियोगिताका प्रत्येक खेलको प्रत्यक्ष प्रसारण ‘खेल नेपाल डट्कम’ मार्फत गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको पहिलो उद्घाटन खेल नेपाल पुलिस स्कुल धरान र भरौल विद्या मन्दिर, बराहक्षेत्रबीच हुने प्रतियोगिता संयोजक प्रहरी निरीक्षक हायुले जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले ८१ हजार ५ नगद , उपविजेता टोलीले  ४१ हजार ५ नगद  नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोच समेत पुरस्कृत हुने जनाइयो । प्रत्येक खेलको म्यान अफ द म्याच घोषणा गरि पुरस्कृत गरिने जनाइयो भने प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार