राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना

बुधबार, ०५ कार्तिक २०८२

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन्।

उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी, बहिनी पुष्पा जोशीलगायत परिवारजनलाई भेटेर भावुक समवेदना पत्र हस्तान्तरण गर्दै विपिनको निधनले सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए।

नेता महरले विपिन प्रतिभाशाली विद्यार्थी मात्र नभएर नेपाल विद्यार्थी संघका एक उदीयमान नेता भएको स्मरण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई क्षति पुगेको बताए।

उनले भने, ‘विपिनले देखेको सुन्दर र समृद्ध नेपालको सपना अब हाम्रो साझा सपना हो। उनको सपनालाई साकार पारेर नै हामीले उनीप्रति सच्चा सम्मान प्रकट गर्न सक्छौं।‘

यस दुःखद घटनाले आतंकवादको विश्वव्यापी क्रूरता र अमानवीयतालाई उजागर गरेको बताउँदै महरले विदेशमा अध्ययन वा काम गर्न जाने नेपालीहरूको सुरक्षाका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

विपिनको परिवारमा परेको अथाह पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनले यो शोकको घडीमा सिंगो देश र नेपाली कांग्रेस पार्टी परिवारको साथमा रहेको विश्वास दिलाए।

नेता महरले हस्तान्तरण गरेको समवेदना पत्रमा विपिनको सपना र उनको असामयिक निधनले सृजना गरेको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

७ अक्टोबर २०२३ मा भएको हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउँदा विपिन अपहरणमा परेका थिए। केही दिनअघि मात्रै इजरायलले विपिनको निधन भइसकेको सार्वजनिक गरेको थियो। यससँगै उनको शव नेपाल ल्याएर मंगलबार मात्रै कञ्चनपुरमा अन्त्यष्टि गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार