धरान : तिहार प्रारम्भसँगै गाउँ सहरका टोल गल्लीहरू अहिले देउसी भैलो र तिहारका गीत सङ्गीतले गुन्जिएका छन । बत्तीको झिलिमिली, सयपत्री–मखमलीको सुगन्ध र गीतको लयसँगै अहिले देशभरको वातावरण उल्लासमय र पर्वमय बनेको छ ।
काग तिहार’ बाट सुरु भई भाइटिकाको दिनसम्म पाँच दिन मनाइने तिहार नेपाली समाजको सांस्कृतिक, धार्मिक र आत्मीय सम्बन्धसँग गहिरो रूपमा जोडिएको छ ।
बालबालिकादेखि युवायुवतीसम्म समूह बनाएर देउसी खेल्ने, घरघरमा गीत गाउँदै रमाउने दृश्यले गाउँ सहरका गल्ली टोलमा चहलपहल थपेको छ । तिहार भन्नासाथ देउसी भैलो, पूजा आराधना र गीत सङ्गीतको उल्लासको रूपमा लिन सकिन्छ ।
तिहारमा गुन्जिने गीतहरूले नेपालीको हृदयमा हर्ष र माया जगाएका छन । दशकौँअघिका केही गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन ।
यादव खरेलको शब्दमा लोचन भट्टराई र नूतन प्रधानको स्वरमा रहेको चलचित्र ‘स्वर्गको यो गीत’ “तिहारै आयो लौ झिलिमिली, ए सुन हजुर भैलिनी आए आँगन”अहिले पनि देउसी भैलोमा छुट्दैन । यसको धुन बज्नासाथ घर घरमा रमाइलो र उत्सवको माहौल फैलिन्छ ।
अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का र बलराम समालको स्वरमा रहेको ‘सिमल बारुलै.. गीत पनि अहिलेका युवा पुस्तादेखि वृद्धसम्म सबैले रुचाउने गीत हो । करिब दुई दशकअघि सार्वजनिक यो गीतमा प्रयोग भएका संवाद, पूर्वेली भाका र देउसीको लयले यसलाई अझ सजीव बनाएको छ ।अहिले पनि बजार, चोक, गल्ली र पसलमा यो गीत गुन्जिरहेको सुन्न सकिन्छ ।
दशैं पछिको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा लिइन्छ । किनभने गीत–सङ्गीतबिनाको तिहार वा देउसी भैलो अहिले अधुरो जस्तै लाग्छ ।
‘राँको’ चलचित्रको “दियो बाली साँझको”गायिका आशा भोस्ले‘अन्याय’ चलचित्रको “अधरमा आज उनकै छ गीत”, सिन्धु मल्लको “झिली र मिली”, राजु लामाको “भाइटिकामा भेट्न आउँला” र प्रमोद खरेल–अन्जु पन्तको “यसपालिको तिहारै रमाइलो” जस्ता गीतहरू पनि तिहारमा बज्ने प्रमुख धुन हुन । यी गीतहरूले तिहारलाई केवल धार्मिक पर्व होइन, साङ्गीतिक उत्सवका रूपमा स्थापित गरेको छ ।
यी बाहेक पनि पुराना र नयाँ गरी दर्जनौँ गीत तिहारमा गुञ्जिन्छन । वर्षेनी नयाँ भाका थपिँदै गए पनि पुराना गीतहरूको लोकप्रियता भने घटेको छैन । सयपत्री–मखमलीको मालाजस्तै ती गीतका शब्द र धुनले नेपालीको भावना गाँसेका छन ।
तिहारको गीत सङ्गीत केवल मनोरञ्जनको माध्यम होइन, नेपाली समाजको सांस्कृतिक आत्मा र पहिचान हो । झिलिमिली बत्ती, देउसी भैलोको लय र सयपत्री मखमलीको सुगन्धसँगै तिहारले देशभर खुसी, माया र एकताको सन्देश फैलाइरहेको छ ।
पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका कलाकारहरूले तिहारका गीतमा नवीनता भित्र्याएका छन । आधुनिक सङ्गीत संयोजन, डिजिटल ध्वनि प्रविधि र दृश्य प्रभावयुक्त भिडियोमार्फत नयाँ भाकाहरू सार्वजनिक भइरहेका छन । तर पुराना परम्परागत मौलिक गीतहरूको लोकप्रियता अझै घटेको छैन । घर घरमा अझै पनि गिटार र मादलको तालमा देउसी भैलो उतिकै खेलिन्छ ।
तिहारका गीतहरूले देशभरको वातावरणलाई रङ्गिन बनाउने मात्र होइन, परदेशमा रहेका नेपालीहरूलाई पनि घरको सम्झना दिलाउँछ । सयपत्री मखमलीको माला जस्तै शब्द र धुनले गाँसिएको तिहारको सङ्गीतले परदेशी मनमा पनि मिठो सम्झना छोड्ने गर्छ ।
प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत बजाउँदै देउसी भैलो खेल्ने चलन बढेको छ । तिहारका गीतहरूले हरेक गल्ली, टोल र बजार क्षेत्रमा बेग्लै रौनक छाएको छ । तिहार सुरु भयसँगै बजारमा यी र यस्ता गीतहरू गुन्जिन थालेसँगै गाउँदेखि सहरसम्म अहिले साङ्गीतिक माहौल छाएको छ ।
प्रतिक्रिया