लेटाङ एमालेमा संस्थापन पक्षको प्रभुत्व, अध्यक्षमा खगेन्द्रराज भण्डारी निर्वाचित

शनिबार, ०७ भदौ २०८२

विराटनगर । मोरङको लेटाङमा सम्पन्न नेकपा (एमाले)को दोस्रो नगर अधिवेशनले नेतृत्व परिवर्तनसँगै संस्थापन पक्षलाई बलियो बनाएको छ । अधिवेशनबाट नगर अध्यक्षमा खगेन्द्रराज भण्डारी निर्वाचित हुनुका साथै सम्पूर्ण पदाधिकारीमा संस्थापन पक्षकै उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार भएको मतदानमा भण्डारीले १ सय ६२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नन्दलाल धिमालले ६० मत मात्र पाए । भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक मानिन्छन् भने धिमाल विद्या भण्डारी समूहका हुन्। यसकारण यो निर्वाचनलाई मोरङ एमालेभित्र लामो समयदेखि चल्दै आएको दुई धारको शक्ति परीक्षणका रूपमा हेरिएको थियो ।

अध्यक्षसँगै उपाध्यक्षमा पनि संस्थापन पक्षका उम्मेदवार विजयी भए । विष्णुकुमार मगरले १ सय ६४ मत ल्याएर यामनाथ सुवेदीलाई पराजित गरे । सचिवमा उर्गेन तामाङ समान मत १ सय ६४ ल्याउँदै निर्वाचित भए भने उनका प्रतिस्पर्धी जीतबहादुर लामाले ५२ मत मात्र ल्याए ।

उपसचिवतर्फ नगेन्द्रराज पराजुली १ सय ५५ मत प्राप्त गर्दै विजयी भए । टेकनाथ निरौलालाई पराजित गरेका पराजुली संस्थापन पक्षकै उम्मेदवार हुन् । महिला उपसचिवमा चिजमाया लिम्बू १ सय ५४ मतसहित निर्वाचित भइन् भने प्रतिस्पर्धी पुनम मस्की मगरले ६४ मत पाउन मात्र सकिन् ।

नगर कमिटीका सदस्यहरू भने सहमतिको आधारमा चयन भएका छन् । लेटाङमा भएको यस अधिवेशनले पार्टीको संस्थापन पक्ष मजबुत रहेको देखाउँछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार