इटहरी : नेपाली समाजमा चाडपर्व भनेको परिवारसँगै बसेर रमाउने, आत्मीयता बाँड्ने, माया ममता आदान–प्रदान गर्ने विशेष समय मानिन्छ ।
दसैँ, तिहार,तिज,कुशे औँसीजस्ता पर्व आउँदा गाउँघरदेखि सहरसम्म खुसीको माहौल फैलिन्छ । दिदीबहिनीको हातमा भाइले टीका राख्ने,आमाबाबुले आशीर्वाद दिने, घरघरमा मिठाई बाँड्ने र चहलपहल छाउने परम्परा हाम्रो संस्कृतिको सुन्दर पक्ष हो । तर, त्यो पक्ष सबैका लागि समान हुँदैन । चाडपर्व नै कतिपयका लागि अझ गहिरो एक्लोपन र पीडाको प्रतीक बन्ने गरेका छन् ।
त्यस्तै पात्र हुन् ओखलढुङ्गाका ७८ वर्षीय शेरबहादुर कटुवाल । अहिले उनी इटहरी उपमहानगरपालिका–२ स्थित ‘माया घर नेपाल’ नामक संरक्षण केन्द्रमा आश्रित छन् ।
आफ्ना आफन्त टाढा भए । जीवनभर गरेको सङ्घर्ष एक्लोपनमा परिणत भयो । र अहिले उनले चाडपर्वलाई पात्रोको पानाभन्दा बाहिर अनुभव गर्न पाएका छैनन् ।
शेरबहादुर विगतमा मोरङको इन्द्रपुर वृद्धाश्रममा बस्दथे । तर, खुटामा घाउ पाकेर किरा परेपछि स्थानीयको सहयोगमा उनलाई इटहरी ल्याइएको हो । अहिले उपचार भइरहेको छ । तर, उनको मनमा लागेको घाउ अझ गहिरो छ । आफन्तबाट बेवास्ता भोग्नुको पीडा धेरै छ । ‘आफन्त नआएपछि चाडपर्व आउँदैन,’ उनले भावुक स्वरमा भने ।
शेरबहादुरको जीवन कथा सुन्दा समाजमा बुढ्यौलीमा पुगेका सयौँ वृद्ध वृद्धाको वास्तविकता सम्झन बाध्य हुन्छौ ।
डेढ वर्षको नाबालक छँदै आमालाई गुमाएका उनले बाल्यकालमा माया ममता पाउन सकेनन् । गाउँमा विद्यालय नभएकाले पढ्ने र लेख्ने मौका पाएनन् । १२ वर्षको उमेरमै गाउँमा आएका साधु सन्तसँगै भारततिर लागे । त्यहाँ खेताला, चौकीदारदेखि मजदुरसम्मका काम गर्दै उनले जीवन धान्न थाले । रमाउने उमेरमा उनले पेट पाल्नकै लागि सङ्घर्ष गर्नुप¥यो ।
शेरबहादुरसँग आफन्त नभएका होइनन् । उनका दिदी–भिनाजु उदयपुरतिर छन्, भाइ सर्लाहीमा छन्, भान्जा–भान्जी कतै मोरङ र कतै प्रदेशका विभिन्न ठाउँमा छन् । तर, व्यवहारमा सबै टाढा छन् ।
‘सबै आफन्त छन् । तर बिराना जस्तै छन्,’ उनी भन्छन् । यस वाक्यमा उनको जीवनको सम्पूर्ण पीडा झल्किन्छ ।
चाडपर्वका बेला अरूको घरमा देखिने चहलपहल, गीत–संगीत, भेटघाट र रमाइलो उनको लागि घाउझैँ हुन्छ । ‘अरूका घरमा चहलपहल देख्दा मन भारी हुन्छ । तर, मेरो लागि त्यस्तो केही हुँदैन,’ उनी भन्छन् ।
दिदी गाईघाटमा बिरामी छन् । आफ्नो दुखेसो सुनाए अझै चिन्ता हुन्छ भन्ने सोचले उनी मौन बस्छन् । भाइ सर्लाहीमा खेतीपातीमा व्यस्त छन् । ‘समय निकाल्नै सक्दैन होला भनेर मैले आफ्नो पीडा सुनाएको छैन,’ उनी भन्छन् । आफ्ना भावना सुनाउने इच्छा पनि हराइसकेको छ । ‘कसलाई के सुनाउनु ? सुनाएरै के हुन्छ ? आफैँ भोग्छु,’ उनको आँखामा आँसु टिलपिलाउँछ ।
शेरबहादुरको कथा उनको व्यक्तिगत जीवन मात्रै नभएर नेपाली समाजमा सयौँ, हजारौँ वृद्ध वृद्धाको साझा पीडा हो । बुढ्यौलीमा कोही छोरा–छोरी विदेशतिर कमाउन गएका छन् ।
कोही आफ्नै काममा व्यस्त छन् । कतिपयलाई आफ्नै घरभित्र स्थान छैन । कतिपय संरक्षण केन्द्र वा वृद्धाश्रममा दिन गन्दै बसेका छन् । चाडपर्व उनीहरूका लागि अझ पीडादायी घडी हुन्छ । अरूको खुसीले उनीहरूको एक्लोपनलाई झन् गहिरो बनाइदिन्छ ।
‘माया घर’ नेपालमा अहिले १ सय ३८ जना वृद्ध वृद्धा तथा असहाय नागरिक आश्रयमा रहेका छन् । संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार त्यहाँ बस्नेहरूका लागि चाडपर्व सामान्य दिनभन्दा बढी कठिन हुन्छ ।
‘बाहिरका सङ्घसंस्था र विभिन्न व्यक्तिहरू आएर रमाइलो गराइदिनुभयो भने मात्र माहौल रङ्गिन हुन्छ । नत्र त यहाँ बस्नेका लागि पर्व खल्लै लाग्छ,’ उनले भनिन् ।
१ सय ३८ मध्ये शेरबहादुर कटुवाल ‘माया घर’ का एक मात्र आश्रित पुरुष हुन् । यसले उनको एक्लोपनलाई अझ गहिरो बनाएको छ ।
‘समाजले चाडपर्वलाई रमाइलो, भेटघाट र उमङ्गको रूपमा मात्र लिन्छ । तर, त्यो उमङ्गसँगै वृद्ध वृद्धाको पीडा देख्न हामी चुक्छौँ ।
आफन्त नजिकै भए पनि समय, ध्यान र मायाको कमीले उनीहरू अझ टाढिएका छन् ।’ चाडपर्वमा मायाको साझेदारी नै मुख्य सन्देश हो भन्ने चेतना जगाउनु जरुरी रहेको प्याकुरेलको भनाइ छ ।
कुनै दिन आफन्त सम्झिएर भेट्न आउलान् भन्ने आशा शेरबहादुर अझै गर्छन् । तर, त्यो आशा पूरा हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ ।
प्रतिक्रिया