रौतहट : रौतहट जिल्लामा एक हप्ताभित्रै तीन जनाको बीभत्स हत्या भएको घटनाले सदरमुकाम गौरसहित आसपासका क्षेत्रमा शान्ति–सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। लगातार भएका घटनाले स्थानीयमा असुरक्षा र त्रास फैलिएको छ।
पछिल्लो घटना आइतबार बिहान भएको हो। गौरसँग सिमाना जोडिएको राजदेवी नगरपालिकास्थित गौर–पिपरा सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको सुटकेशभित्र गौर नगरपालिका–२, महादेवपट्टिमा डेरा गरी बस्ने २६ वर्षीया रुबीकुमारी साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
माधव नारायण नगरपालिका–६, माधोपुर माइतीघर भएकी साह शनिवार साँझ ‘ब्युटी पार्लर जान्छु’ भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। डिएसपी राजु कार्कीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन तर नाकबाट रगत बगेको पाइएको छ। मोबाइल फोन फेला परेको छैन।
‘हत्या अन्यत्रै गरेर शव ल्याएर फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ डिएसपी कार्कीले बताए। मृतकका श्रीमान् शिवसागर साह भारतबाट फर्किएका छन् र अनुसन्धानमा सहयोग गरिरहेका छन्।
यसअघि गत भदौ ४ गते गौर नगरपालिका–५, बरहवा ताल नजिकै यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहार गरी हत्या गरिएको थियो।
लागुऔषध सेवनपछिको विवादमा गौर–३ का २० वर्षीय सनोज रामले उनलाई हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। अभियुक्त रामलाई घटनास्थलमै चक्कुसहित नियन्त्रणमा लिइएको थियो।
त्यस्तै, गत सोमबार गौर–५ मा रहेको नेपाल लजको कोठा नम्बर २०२ मा सप्तरीका ५९ वर्षीय व्यापारी उपेन्द्रकुमार भगतको शव रहस्यमय अवस्थामा फेला परेको थियो।
खडक नगरपालिका–७ निवासी भगत आषाढ २५ गतेदेखि बेपत्ता थिए। उनका छोराले ४४ लाख रुपैयाँ फर्मको खाताबाट हराएकै दिन झिकिएको दाबी गर्दै आर्थिक लेनदेनकै विवादमा अपहरणपछि हत्या भएको आरोप लगाएका छन्।
लगातारका घटनाले गौर क्षेत्रमा असुरक्षा र त्रास बढेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले सबै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र अपराधीलाई छिट्टै कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया