विराटनगर — विराटनगरको बरगाछी चोकमा ट्रक र ट्यांकर ठोक्किँदा सडकबीचमा रहेको स्तम्भ भत्किएको छ। बुधबार बिहानै भएको उक्त दुर्घटनामा एक जना घाइते भएका छन्।
मोरङ ट्राफिक प्रहरीका अनुसार नेमुवाबाट विराटनगरको रानीतर्फ गइरहेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२ ख ८८८८ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका हुन्। ट्यांकर चालक बाराको अमलेखगञ्ज निवासी ३३ वर्षीय पञ्चलाल लुम्बा सामान्य घाइते भएका छन्। उनको विराट नर्सिङ होम र विराटनगर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका कारण बरगाछी चोकको बीचमा बरको बिरुवा रोपेर बनाइएको स्तम्भ पूर्ण रूपमा भत्किएको छ। ट्रक चालक उत्तर प्रदेश निवासी ३२ वर्षीय मोहमद मुस्ताकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ट्यांकरले हतारमा बाटो काट्दा दुर्घटना भएको हो।
बरगाछी चोकमा यसअघि पनि सवारी ठक्करका कारण स्मारक र सालिकहरूमा क्षति पुग्ने घटना दोहोरिइरहेका छन्। यसअघि त्यहाँ नेपाली कांग्रेसले स्थापना गरेको कृष्णप्रसाद कोइरालाको सालिकमा कन्टेनर ठोक्किँदा ठूलो क्षति पुगेको थियो। स्मारक पटक–पटक भत्किएर पुनः निर्माण भइरहँदा पनि दुर्घटना नरोकिएको स्थानीयले बताएका छन् ।
एक समय बरको रुखले चिनिने बरगाछी चोकमा व्यापारिक मार्ग निर्माणसँगै रुख हटाइएको थियो। त्यसपछि लायन्स क्लबले सिमेन्ट प्रयोग गरी गाछीको स्मारक बनाएको थियो। तर त्यो स्मारकसमेत सवारी ठक्करका कारण भत्किँदै गयो। अहिले भत्किएको स्तम्भ सोही स्थानमा बनाइएको पछिल्लो संरचना हो।
प्रतिक्रिया