बर्दिया : भारतको उत्तरकाशी क्षेत्रको धारला गाउँमा गएको भीषण पहिरोमा बेपत्ता भएका बर्दियाका तीन नेपालीको शव फेला नपरेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
बर्दिया मधुवन नगरपालिका–६ बुद्धनगरका चुडामणि खड्काका छोरा नरेन्द्र खड्का (३७), बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षीय नाति रोमन पहिरोमा पुरिएर बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि भेट्न नसकेपछि उनीहरुले आफ्नै गाउँ फर्किएर प्रतीक स्वरूप कुशको शव बनाई अन्त्येष्टि गरेको चुडामणि खड्काले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमै पुगेपछि एक हात मात्र फेला परेको थियो । “छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा पहिचान गरेर उतै गाड्यौँ । बाँकी शव फेला नपरेपछि फर्केर आएर घरमा कुशको शव बनाई अन्त्येष्टि गरेका हौँ,” उनले भने ।
खोजतलासका क्रममा खड्का परिवारले उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामी र प्रहरी अधिकृतसँग पनि आग्रह गरेका थिए । तर, थप शव पत्ता लगाउन नसकिएको उनले बताए ।
यसै घटनामा मधुवन नगरपालिका–५ की अमृता परियार पनि बेपत्ता छिन् । उनीहरुको अवस्था अझै अज्ञात छ । आर्थिक अभावका कारण रोजगारीका लागि खड्का परिवार सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी पुगेका थिए ।
धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसिरहेको बेला माथिबाट ठूलो पहिरो खस्दा उनीहरु पुरिएका थिए । सो दिन उत्तरकाशी जिल्लाका धारलालगायत तीन स्थानमा पहिरो जाँदा जाजरकोटका २१ जना मजदुरसमेत बेपत्ता भएका थिए ।
मृतकका भाइ गुप्तराज खड्काले दाजु मजदुरी गरेर कमाइ गर्ने भएकाले परिवार आर्थिक संकटमा परेको बताए । “नगरपालिकाले किरिया खर्च दिने भने पनि अहिलेसम्म पाएका छैनौँ,” उनले गुनासो गरे
प्रतिक्रिया