निक्कीका ६ वर्षीय छोराले आफ्नै आमाको हत्या देखेका छन्। उनले रोएर भनेका छन्, “उनीहरूले पहिले मम्मालाई केही हाने। त्यसपछि थप्पड हानेर लाइटरले आगो लगाइदिए।”
निक्कीले ९ वर्षअघि विपिन भाटीसँग विवाह गरेकी थिइन्। दाइजोका रूपमा ३६ लाख रुपैयाँ नल्याएको भन्दै श्रीमान् विपिन र सासू दयाले निरन्तर यातना दिने गरेको निक्कीकी बहिनी कञ्चनले बताइन्। कञ्चनकै विवाह विपिनका भाइ रोहितसँग भएको थियो। उनले आफू पनि दाइजो नल्याएको कारण यातना सहनुपरेको बताइन्।
निक्की आगोले जलिरहेको बेला भर्याङबाट ओर्लिरहेको भिडियोसमेत सार्वजनिक भएको छ। कञ्चनले भनेकी छन्, “मैले भिडियो नबनाएको भए मेरी बहिनी कसरी मरी भनेर कसैले थाहा पाउने थिएन।”
हत्या आरोपमा पक्राउ परेका विपिन भाटी प्रहरीले प्रमाण सङ्कलनका लागि घर लगिएको बेला भाग्ने प्रयास गर्दा गोली लागेर घाइते भएका छन्। उपचाररत विपिनले भने आफू निर्दोष रहेको र श्रीमती आफैँ मरेको दाबी गरेका छन्। तर निक्कीका बुबा भिकारी सिंहले भने, “उनीहरू हत्यारा हुन्, गोली हान्नुपर्छ वा झुन्ड्याउनुपर्छ। छातीमै गोली हान्नुपर्थ्यो।”
प्रहरीले विपिन भाटी, उनका दाजु रोहित भाटी, सासू दया र ससुरा सतवीरविरुद्ध मुद्दा दर्ता गरेको छ। विपिन पक्राउ परेका छन् भने अन्य तीन जना फरार रहेका छन्।
प्रतिक्रिया