काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो ।
कर्जा सुविधाअन्तर्गत अधिकतम पाँच करोडसम्मको सीमा रहेकोे घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ । उक्त घर कर्जाका लागि प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने कर्जाको अवधि २० वर्षको हुनेछ ।
त्यसैगरी सवारी कर्जातर्फ विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत ब्याजदर र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम एक करोडसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । दुवै किसिमका सवारी कर्जाको प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ भने कर्जाको अवधि सात वर्षको हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
देशका सबै जिल्लामा रहेका तीन सय १० शाखा कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको जनाएको छ ।
प्रतिक्रिया