भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह

मंगलबार, २३ बैशाख २०८२

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन् । 

एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताएका हुन् । 
  
भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको साहको भनाई छ । 

उनले भने, “सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ ।” उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए । 

“नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत हुनुभयो”, मुख्यमन्त्रीले भने । 

यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार