कोशीमा अपराध वृद्धि : एक वर्षमा ९ हजारभन्दा बढी मुद्दा

सोमबार, २२ बैशाख २०८२

विराटनगर : कोशी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा अपराधसम्बन्धी उजुरी उल्लेखनीय रूपमा बढेको देखिएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०८१ सालको वैशाखदेखि चैतसम्मको अवधिमा कुल ९ हजार ४ सय ६१ वटा मुद्दा दर्ता भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो।

१४ जिल्लालाई समेट्ने कोशी प्रदेशमा २०८० सालमा ९ हजार १ सय २६ मुद्दा दर्ता भएका थिए। २०८१ सालको महिनावार विवरण हेर्दा असार, जेठ, साउन र कात्तिकमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन्। असारमा ९ सय ६७ र जेठमा ९ सय ६२ मुद्दा दर्ता भएका थिए।

प्रहरीका अनुसार अपराधका प्रकारहरू फरकफरक छन्। आत्महत्या सम्बन्धी १ हजार २ सय ३ मुद्दा दर्ता भएका छन् भने बैंकिङ कसुर १ हजार ८९, लागुऔषध सम्बन्धी १ हजार १ सय ५, सार्वजनिक हित र नैतिकताविरुद्ध १ हजार ८, भवितव्य ज्यान सम्बन्धी ७ सय ७२ मुद्दा रहेका छन्।

त्यस्तै चोरीका ४ सय ३०, जबरजस्ती करणीका ३ सय ९०, सवारी ज्यानका २ सय ९९, ठगी र आपराधिक विश्वासघातका १ सय ९८, ज्यान मार्ने उद्योग १ सय ३०, बहुविवाह १ सय ८ र कर्तव्य ज्यान ९० मुद्दा दर्ता भएका छन्।

कोशी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी भीमबहादुर दाहालका अनुसार लागुऔषध कारोबारविरुद्ध प्रहरीको कडा रणनीति अपनाइएको छ। 'कारोबारीलाई गोली हानेर भए पनि नियन्त्रणमा लिने रणनीति छ,' उनले बताए। सोमबार मात्रै झापामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै २ सय ग्राम ब्राउन सुगर बरामद गरेको थियो।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रम, आमा अभियान र फ्यान अभियान सञ्चालन गरिरहेको छ। आत्महत्या न्यूनीकरणका लागि पनि विशेष अभियान चलाइएको छ, जसबाट सकारात्मक परिणाम देखिन थालेको दाहालले दाबी गरे।

उनका अनुसार संगठित वा ठूला अपराधहरूमा प्रहरीको सक्रियता र अनुसन्धान टोलीको दक्षताका कारण समयमै नियन्त्रणमा लिइएको छ। भारत वा विदेशबाट अपराध गरेर फर्किएका व्यक्तिहरू पनि पक्राउमा परेका छन्।

“समाजमा अपराध नभएका होइनन्, तर ठूला र नियोजित अपराध हुन पाएका छैनन्,” एसएसपी दाहालले भने। पहिचान नभएका अपराधीहरूलाई समेत पहिचान गरेर अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भएको दाबी उनले गरे।

प्राकृतिक प्रकोप, दुर्घटना, आत्महत्या जस्ता भवितव्य घटनामा प्रहरीको नियन्त्रण सीमित हुने भए पनि न्यूनीकरणका लागि ‘प्रो(एक्टिभ पुलिसिङ’ रणनीति अपनाइएको दाहालको भनाइ छ।

सामाजिक संरचना, साइबर अपराध, नयाँ ट्रेन्डका अपराध, र जनसंख्या वृद्धिको कारण चुनौती थपिएको भए पनि प्रहरीको समन्वित प्रयासबाट कोशी प्रदेशमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको उनको निष्कर्ष छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार