झापा । सुखानी सामुदायिक वन उपभोक्ता समूह(अर्जुनधारा–३ र माई–४ को २६औं वार्षिक साधारण सभा बिहीबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
समूह अन्र्तगतको ऐतिहासिक पर्यटकीय स्थल सुखानी पर्यापर्यटन सहादतस्थलको परिसरमा समूहका अध्यक्ष मंगलसिंह लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लिम्बूले समूहको वार्षिक प्रगति प्रतिवेदन, पर्यटन उपाध्यक्ष विपिनकुमार चौहनले पर्यटन प्रतिवेदन र लेखा समितिका संयोजक धनबहादुर तामाङले गत आर्थिक वर्ष ०७९/ ०८०को प्राप्ती तथा भुक्तानी विवरण प्रस्तुत गरेका थिए ।
गत आर्थिक वर्षमा एक करोड २३ लाख २३ हजार तीन सय २३ रुपैयाँ ६३ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्ष ०८०/ ०८१का लागि अनुमानित ८८ लाख २२ हजार एक सय पाँच रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरेको थियो ।
त्यसैगरी समूहले सहादतस्थलमा रहेको पाँच पोखरीमा सञ्चालन गरेको डुंगा शयर, बालबालिकाहरुका लागि सञ्चालन गरेको घुम्ने कार(एफआरसी) र टपरी उद्योगको पनि उद्घाटन गरिएको समूहका अध्यक्ष लिम्बूले जानकारी दिए ।
सोही कार्यक्रममा समूहले सामुदायिक विकास अन्र्तगत विपन्न उपभोक्ताहरुलाई निःशुल्क ग्यास चुल्हा वितरण गरेको थियो । पहिलो चरणमा ५२ जनालाई वितरण गरिएको उक्त कार्यक्रमबाट आगामी दिनमा सबै उपभोक्तालाई ग्यास चुल्हा वितरण गर्ने समूहको लक्ष्य रहेको बताइएको छ ।
त्यस्तै ज्येष्ठ उपभोक्ताहरु ऐनमान दास, केशरबहादुर वि.क., ख्यामकुमारी तामाङ, गोपीकृष्ण पराजुली, दिलबहादुर तामाङ, फिपरानी लिम्बू, मनमाया सिजाली, लालमाया लिम्बू, हर्कमाया मगर र हेमबहादुर राना मगरलाई सम्मानित गरिएको थियो ।
समूह सल्लाहकार समितिका संयोजक ओमप्रकाश सिटौलाले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, माई नगर सभा सदस्य महेन्द्र बुढाथोकी, माई सब डिभिजन वन कार्यालयकी प्रमुख मनिता कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
समूहका उपाध्यक्ष जयबहादुर समाल मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यालय सचिव खगेन्द्र भट्टराईले गरेका थिए ।
Discussion about this post