विराटनगर । गठबन्धनको निर्णय अनुसार कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूले बहुमत पुर्याएको जिकिर गरेका छन् ।
पत्रकारसँग कुरा गर्दै उनले आफूले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेको बताएका हुन् । ‘गठबन्धनको निर्णय अनुसार मैले दाबी पेस गरेको हुँ,’ आङ्बो भन्छन्, ‘मेरो बहुमत छ ।’ उनले प्रदेश प्रमुखले सबै कुरा हेरेर र संविधानविदसँग सल्लाह गरेर मुख्यमन्त्री नियुक्तिमा निर्णय लिने पनि बताए ।
प्रदेश प्रमुख पर्शुराम खापुङसँग आफूले बुझाएको हस्ताक्षर पुरानो नभएको उनको दाबी थियो । ‘यस विषयमा आवश्यक छानबिन गरेर प्रदेश प्रमुखले निर्णय लिनु हुन्छ,’ आङ्बो भन्छन् ।
कोसीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर केदार कार्कीले पनि दाबी पेस गरेका छन् । कार्कीलाई इतर समूहका ९ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ ।
आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कोसी कांग्रेस सांसदले भने, ‘इन्द्र आङ्बोले हस्ताक्षर दुरुपयोग गरे,’
नेपाली कांग्रेसका सांसदहरुले कोसी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको बताएका छन् ।
केदार कार्कीका पक्षमा हस्ताक्षर गर्ने सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भनेर प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन् । कार्कीलाई इतर पक्षका सांसदहरु रामकुमार खत्री, लीलाकुमारी राई, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनीता गुरुङ र हिमाल कार्कीसमेतले साथ दिएका छन् ।
यसअधि हिमाल संस्थापन पक्षमा थिए । उनले आजै दलको उपनेता पदबाट राजीनामा दिए र केदारका पक्षमा हस्ताक्षर गरे । प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिँदै उनीहरुले आङ्बोलाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।
Discussion about this post