विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफ्नो दाबी संविधान संवत रहेको उल्लेख गरेका छन् । ‘मेरो दाबी संविधान संवत र अदालतको फैसला अनुसार आधिकारिक हो । यसअघि सरकार बन्ने र विश्वासको मत नपाउने अवस्था थियो,’ कार्कीले भने, ‘सर्वोच्चले पटकपटक खारेज गर्नुपर्ने अवस्था आयो । अब यसको अन्त्य गर्नुपर्छ ।’
उनले प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरे अनुरुप संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । यो उपधाराअन्तर्गत प्रदेशसभा सदस्यलाई दलको ह्वीप लाग्दैन । प्रदेशसभा सदस्यले विवेक प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन गर्न पाउँछन् ।
कार्कीलाई कांग्रेसकै संस्थापनइतरका ९ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ । बहुमत पुर्याएर उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कार्कीले सरकार गठनको विषयलाई लिएर प्रदेशमा कुनैपनि दलले आधिकारिक निर्णय नगरेको र प्रदेशसभा सदस्यलाई दलको ह्वीप नलाग्ने बताए । भने, ‘निर्णय लिने विषयमा प्रदेशसभा सदस्यहरु स्वतन्त्र छन् । मैले त्यसको उपयोग गरें ।’
सरकार गठनको निर्णय प्रदेशकै संसदीय दलले गर्नुपर्ने पनि कार्कीले बताए । ‘निर्णय प्रदेशले गर्नुपर्ने थियो । केन्द्रले त केन्द्रकै कुरा गर्ने हो,’ उनले भने । गठबन्धनको बिहीबार काठमाडौंमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षले विद्रोह गरेको छ ।
कार्कीले सांसदले व्यक्तिगत हिसाबले सरकार गठनमा समर्थन गर्न र सरकारलाई विश्वासको मत दिन उपधारा ५ ले खुला गरेको बताए । सांसदलाई पार्टीको ह्वीप नलाग्ने र कारबाही पनि भोग्न नपर्ने भएको हुँदा आफूले त्यसको उपयोग गरेको कार्कीको जिकिर छ । प्रदेशलाई स्थायी सरकार दिनका लागि बहुमत सांसदको विश्वासको मत दिने आधार खडा गरेर आफूले मुख्यमन्त्रीमा दाबी गरेको उनको भनाइ छ ।
हिमाल कार्कीको ‘क्याम्प चेन्ज’
नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका नेपाली कांग्रेसका संथापन पक्षीय नेता हिमाल कार्की केदार कार्कीको पक्षमा खुलेका छन् । राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख समक्ष पुगेका हुन् । हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका हुन् ।
Discussion about this post