विराटनगर/कोसी प्रदेशको मुख्यमन्त्रीको दाबीकर्ता केदार कार्कीका समर्थक सांसदहरु आफ्नो हस्ताक्षर सनाखत गरेका छ्न । आज बिहानै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले सांसदको हस्ताक्षरको सनाखत गरेका हुन ।
हस्ताक्षर सनाखत सकिएपछि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए । प्रदेश प्रमुखको आह्वान अनुसार सनाखतको समय दिउँसो २ बजेसम्मका लागि तोकिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दुई जनाको दाबी परेको भन्दै सांसदको हस्ताक्षर सनाखत गर्नुपर्ने भनेर शुक्रबार मुख्यमन्त्री नियुक्त गरेनन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न खापुङले दिएको समयसीमा शुक्रबार साँझ ५ बजे नै सकिएको थियो ।
प्रदेशको मुख्यमन्त्रीमा एमालेको सार्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार नै दाबी पेस गरेका थिए । तर, सनाखतको नाममा संवैधानिक व्यवस्था अनुरुप परेको दाबीलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त नगरेपछि गठबन्धनबाट परिचालित भएको आरोप प्रदेश प्रमुखले खेप्दैछन् ।
कार्कीले संवैधानिक व्यवस्था अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेको देखिन्छ । कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन् ।
कार्कीसहित उनलाई साथ दिएका सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप खेपिरहेका आङ्बोको दाबी आधिकारिक हुन नसक्ने बताइन्छ । त्यसले मुख्यमन्त्रीमा कार्कीको दाबी बलियो बनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले गरेको आह्वान अनुसार मुख्यमन्त्रीको दाबीकर्ता कार्कीका समर्थक सांसदहरु प्रदेशसभाको परिचयपत्रसहित उपस्थित पुगिसकेका हुन् । सनाखत गराउन आफूहरुको नाम र हस्ताक्षरसहित उनीहरु सशरीर प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । आङ्बोका समर्थक सांसद भने प्रदेश प्रमुखकोमा पुगिसकेका छैनन् ।
Discussion about this post