झापा । दशै र तिहारको बीचमा झापामा १७ वटा आगलागीका घटनामा परी एक महिलाले ज्यान गुमाएकी छिन् भने लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको हो । दशै र तिहारको १७ दिनको अवधिमा भएका आगलागीका घटनामा परी दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा भएको आगलागीका घटनामा लाखौंको क्षति भएको हो । प्रहरीका अनुसार कात्तिक १३ यत कात्तिक ३० गते सम्म झपामा १७ आगलागीका घटना घटेका हुन् ।
प्रहरीका अनुसार गत कात्तिक २३ गते अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा आगलागी हुँदा राईकी ७५ वर्षीया श्रीमती दिलकुमारी राईको जलेर मृत्यु भएको हो । आगलागीका कारण ७३ वर्षीय शिबकुमार राई समेत घाईते भएका थिए । आगलागीका कारण ७५ हजार बरावरको धनमाल समेत क्षति भएको प्रहरीले जनाएको छ ।
गत कात्तिक १३ गते बिर्तामोड नगरपालिका – ८ किसनभिट्टा निवासी शेरबहादुर बिष्टको घर नजिकै रहेको धान सहितको परालको कुन्युमा आगलागी भएको थियो । आगलागीबाट २२ कठ्ठा खेतको अन्दाजी ६० मन धान र पराल समेत जल्दा ७२ हजार मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक १५ गते मेचीनगर ११ लाबरबोटे निवासी टीकाराम कार्कीको गाईगोठमा खोले पकाउने चुलोबाट सल्किएको आगोले गाईगोठ तथा गोठमा राखेको काठ जल्दा ३ लाख मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक १६ गते भद्रपुर नगरपालिका ८ स्थित प्रादेशिक अस्पताल अगाडि रहेको मानबहादुर र यमकुमारी खड्काले संचालन गरेको सिन्धुली खाजामा आगलागी हुँदा ५० हजार मूल्य बरावरको क्षति भएको हो । रेगुलेटरबाट ग्यास लिक भएर भएको आगलागीका कारण ग्यास सहित पसलमा भएका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कात्तिक १७ गते दमक नगरपालिका ३ दुम्से निवासी लक्ष्मण महतको टिनको छानो भएको एक तले घरमा भएको आगलागीमा ७० लाख रुपैयाँ बरावरको क्षति भएको हो । बिजुली सर्ट भएर आगलागी हुँदा नगद नगद १ लाख २० हजार, १५ तोला सुन, १० तोला चाँदी, समेत जलेको बताइएको छ ।
कात्तिक २१ गते झापा गाउँपालिका वडा ३ स्थित मनारु हकको घर छेउमा राखेको मकैको खोस्टाको सन्ठी राखिएको ठाउँमा आगलागी हुँदा ४७ वर्षीया रफिम बीबी जलेर घाइते भएकी थिइन् ।
कात्तिक २२ गते बिर्तामोड नगरपालिका ९ नरियाबारी निवासी पुष्पराज आचार्यको खेतबाट सल्किएको आगाोले परालको कुन्यु जल्दा १० हजार मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक २४ गते बुद्धशान्ति गाउँपालिका ४ मंगलबारे बस्ने जेठा भनिने कुमार तामाङको गाई गोठमा खोले पकाउने क्रममा आगलागी हुँदा १० लाख मूल्य बरावरको क्षति भएको हो । आगलागीबाट घर बनाउन राखेको सखुवाको काठ धान , मकै ४ मन, गोठमा राखेको पराल र गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
त्यस्तै कात्तिक २७ गते झापा गाउँपालिका वडा नं. ६ हनुमान चोक बस्ने राजन मण्डलको घरमा भएको आगलागीबाट ५ लाख ३१ हजार मूल्य बरावरको क्षति भएको हो । विद्युत सर्ट भई आगलागी भएको र आगलागीका कारण नगद ६० हजार, २ तोला, चाँही ११ तोला, लत्ता कपडा, भाडा बर्तन ,काठ र घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
त्यस्तै कात्तिक २८ गते शिवसताक्षी नगरपालिका वडा नं. १ बरपिपल चौक निवासी देवीनारायण श्रेष्ठको घर नजिकै खेतमा रहेको एक बिगा खेतको धानको कुनियूमा आगलागी हुँदा ९२ हजार मूल्य बरावरको क्षति भएको हो ।
२८ गते नै भएको आगलागीमा बिर्तामोड नगरपालिका वडा नं. ८ गराममनी निवासी युवराज पौडेलको घर छेउमा रहेको धान सहितको परालको कुन्युमा आगलागी भएको थियाो । सो क्रममा ४० हजाार मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक २९ गते दमक नगरपालिका ३ दुम्से निवाासी मनबहादुर बोहराको घरमा आगाली भएको थियो । आगलागीका कारण २२ लाख मूल्य बरावरको क्षति भएको हो । त्यस्तै कृष्ण कार्कीको टिनको छानो, टाटीको बेरा भएको १ तले गाई गोठ समेत पूर्ण रुपमा जलेको र निजकै टिनको छानो, ईट्टा सिमेन्टको वाल भुई भएको १ तले घर सामान्य जल्दा २ लाख मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक २९ गते नै दमक नगरपालिका वडा नं. ३ बेलडागी स्थित भुटानी शरणर्र्थी शिविर हट नं.सी फोर सेक्टर ३६९ बस्ने ३० वर्षीय गीता माया सुब्बाको टिनको छानो एक लाख मूल्य बरावरको क्षति भएको हो ।
कात्तिक ३० गते बिर्तामोड नगरपालिका वडा नं.१ पञ्चकन्या टोल बस्ने नन्द कुमार प्रसाईको दुई तल्ले पक्की घरको भुई तल्लामा रहेको स्टोर मा आगलागी हुँदा एक लाख ५० हजार मूल्य बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीका घटनामा अधिकांश क्षति विद्युत सर्ट भई भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्याालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
Discussion about this post