विराटनगर । जिल्ला अदालत मोरङले एक महिनाअघि पक्राउ परेको हतियारधारी गिरोहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश राजेश्वर अर्यालको इजलासले मोरङको धनपालथानबाट पक्राउ परेको ३ जनाको गिरोहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासबाट थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश भएपछि हतियारसहित पक्राउ परेका ३ जनालाई मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । दसैंको समयमा लुटपाट एवं डकैती मच्चाउने योजनासहित हिँडिरहेको हतियारधारी गिरोहलाई प्रहरीले मोरङको धनपालथानबाट पक्राउ गरेको थियो । प्रहरीले गत कात्तिक ३ गते राति ९ः३० बजे धनपालथान गाउँपालिका–२ पैठास्थित खयरवना–कर्सिया भित्री सडकखण्डमा शंकास्पद अवस्थामा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी फेला पारेको थियो । बीआर ०६ पीए १३६२ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी सुरु गरेपछि गाडीमा रहेकाहरु फरार भएका थिए ।
प्रहरीले नियन्त्रणमा लिइसकेका कारण गाडीका चालक भने भाग्न पाएनन् । प्रहरीले चेकजाँच गर्दा गाडीको इन्जिन छेउको खाली ठाउँमा कालो कपडाले बेरेर लुकाईछिपाई राखेको एउटा कटुवा पेस्तोल र ३ राउण्ड गोली फेला परेको थियो । त्यसलगत्तै चालक सर्लाहीको हरिपूर्वा नगरपालिका–७ मिर्चयाका २८ वर्षीय रवीन्द्र यादव पक्राउ परे । त्यसपछि प्रहरी फरार रहेकाको खोजीमा केन्द्रित भयो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार फरार हुनेमध्ये २ जना मोरङकै नेपाल–भारत सीमा क्षेत्रनजिकबाट कात्तिक ४ गते बिहान पक्राउ परेका थिए । पक्राउ पर्नेमा सर्लाहीको हरिपूर्वा–७ मिर्चयाका २३ वर्षीय कमलेशकुमार यादव र महोत्तरीको गौशाला नगरपालिका–६ फुल्काहाका २४ वर्षीय देमान भनिने रामध्यान यादव छन् । ‘प्रहरीले गाडी चेकजाँच गर्न थालेपछि कमलेश र रामध्यानसहित ४ जना फरार भएका थिए,’ डीएसपी दाहाल भन्छन्, ‘उनीहरुसँगै भागेका २ जना अझैसम्म फरार रहेकाले खोजी जारी राखिएको छ ।’ इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले हतियारधारी गिरोहमाथि विभिन्न कोणबाट अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो । मिसिललाई आधार बनाएर वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै पक्राउ परेका ३ र फरार रहेका २ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गर्यो ।
अदालतमा ५ जना अभियुक्तविरुद्ध हातहतियार तथा खरखजना मुद्दा दर्ता गरिएको हो । अदालतमा मंगलबार अभियुक्तको बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो । अदालतका सूचना अधिकारी सुवेदीका अनुसार बहसपछि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न इजलासबाट आदेश भएको हो । दसैंको समयमा योजना बनाएर लुटपाट एवं डकैती गर्न हिँडेको हतियारधारी गिरोहलाई बेलैमा पक्राउ गर्न प्रहरी सफल भएकाले अप्रिय घटना हुन पाएन । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार चाडपर्वको मौकामा डकैती गर्ने उदेश्यले हिँडेको गिरोहलाई प्रहरीले समयमै पक्राउ गरेको जानकारी दिए । उनका अनुसार गिरोहले कुनै एउटा निश्चित ठाउँलाई मात्रै लक्षित नगरेको र मौका पर्नासाथ सहरी एवं ग्रामीण क्षेत्रका सहकारी, बैंक, वित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानमा लुटपाट मच्चाउने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । ‘उनीहरु लुटपाट एवं डकैतीकै योजना बनाएर मोरङसम्म आइपुगेका हुन्,’ एसपी पोखरेलले भने, ‘उपयुक्त समय र स्थान तथा सहज परिस्थिति पर्खिएर हिँडिरहेका बेला पक्राउ परेपछि गिरोहको योजना असफल भयो ।’ उनका अनुसार ३ दिनअघि नै मोरङ आएको गिरोहले विराटनगरको एउटा होटलमा बसेर योजना बनाएको पाइएको छ । होटलमा बसेर पायक पर्ने र सहज हुने ठाउँको खोजी गर्ने तथा मौका पर्नासाथ लुटपाट मच्चाउने योजना बनाएको खुलेको हो ।
यता मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्थामा भएको लुटपाटमा पक्राउ परेर कारागार चलान हुनेमध्ये कमलेशकुमार यादवको संलग्नता रहेको खुलेको छ ।
सहकारीमा ९ महिनाअघि एउटा गिरोहले लुटपाट मच्चाएको थियो । कमलेश प्रहरीको खोजी सूचीमा थिए । तर, अर्कै गिरोहमा मिसिएर पुनः लुटपाट मच्चाउने योजनासहित मोरङ आएका बेला उनी पक्राउ परेको प्रहरीले जनाएको छ । सहकारीको ७ लाख ७७ हजार १८ रूपैयाँ नगद २०७९ चैत २ गते राति लुटपाट गरिएको थियो । प्रहरीको अनुसन्धानबाट लुटपाटमा ९ जनाको गिरोह संलग्न रहेको पत्ता लागेको छ ।
घटनामा संलग्नमध्ये सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३५ वर्षीय मिथुन पासवान, सर्लाहीकै ईश्वरपुर नगरपालिका–५ का २६ वर्षीय मिथिलेश महतो, मोरङको ग्रामथान–५ का ४० वर्षीय दिलिपकुमार चौधरी थारु र २८ वर्षीय इरज धामी त्यतिबेला पक्राउ परेका थिए । ग्रामथानका दिलिप र इरजले दिएको सूचनाका आधारमा सर्लाहीदेखि मोरङ आएर गिरोहले सहकारीमा लुटपाट मच्चाएको खुलेको छ । घटनामा संलग्नविरुद्ध प्रहरीले डाँका मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये मिथिलेश अदालतको आदेशबाट २ लाख रूपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् भने अन्य ३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए । घटनामा संलग्न ५ जना फरारमध्ये एक जना कमलेश हुन् । लुटपाटको अर्को घटना गराउने योजनासहित मोरङ आएका बेला पक्राउ उनी पक्राउ परेको प्रहरीको भनाइ छ । सहकारी लुटपाटमा संलग्न ४ जना हालसम्म फरार छन् ।
Discussion about this post