इटहरी । नेपाली काँग्रेस मोरङले बुधवार प्रथम जिल्ला सम्मेलनको आयोजना गरेको छ । केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनका वक्ताहरूले पाटीभित्रका बेथितिका बारेमा जिम्मेवारी लिनुपर्ने साथै अधिवेशनले केन्द्रीय नेतृत्वलाई सकारात्मक सन्देश दिनुपर्ने बताएका छन् ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै वक्ताहरूले काङ्ग्रेसबाट निर्वाचित प्रतिनिधिले जनताका बिचमा गरेका प्रतिबद्धता अनुसार काम गर्नुपर्ने बताए । मोरङ कांग्रेसका नेता वसन्त भट्टराई भन्छन्,‘जितेकाहरू जनताका बिचमा गएर काम गर्नुहोस् हैन भने अर्को पटक फूलको मालाको सट्टा जुत्ताको माला लगाउने दिन पनि आउने छन् ।’
सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर समेत रहेको मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले जनप्रतिनिधिले गरेका राम्रा कामको पार्टीभित्र चर्चा हुने नगरेको बताए । नकारात्मक कुराको मात्र प्रचार हुने गरेको उनको भनाई छ । प्रदेश सभा सदस्य गयानन्द मण्डलले सङ्घीयता आए पनि कानुनका सन्दर्भमा अझै पनि सङ्घीयताको जग बस्न नसकेको बताए ।
सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री पाउँदा केहीलाई टाउको दुखाइको विषय बनेको बताए । कार्कीले कोशी प्रदेशको सरकार नेता शेखर कोइरालाको प्रत्यक्ष निगरानीमा बनेको सरकार भएकाले पनि अनुशासित सरकार रहेको उल्लेख गरेका छन् ।
सम्मेलनको बन्द सत्रमा बढ्दो राजनैतिक अराजकताको विषयमा बहस हुने बताइएको छ । पार्टी भित्र रहेका विकृतिका सम्बन्धमा बन्द सत्रमा छलफल हुने जिल्ला सचिव ललित श्रेष्ठले बताए ।
Discussion about this post