झापा । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा सोमवार अपरान्ह शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो ।
कमल गाउँपालिका–५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको अस्पताल प्रशासन प्रमुख बिनोद बस्नेतले जानकारी दिए । वीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म गएका थिए । २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत नेपाली कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका शर्माको बिर्तासिटी अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो ।
२०४२ सालमा नै नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा समेत उम्मेदवार भएका थिए । त्यागी र नेपाली कांग्रेसका निष्ठावान नेताका रुपमा परिचित शर्माको मंगलवार कनकाई माईमा ११ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईले जानकारी दिए । पाँच वर्षअघि जीवनसंगिनी गुमाएका दिवंगत दाहालका तीन छोराहरु बिनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला रहेका छन् । उनले पार्टीसँगै स्थानीय सामाजिक संघ–संस्थाहरुमा समेत योगदान पु¥याँउदै आएका थिए । शर्माको निधनप्रति दुःख व्यक्त गर्दै १२ गते नेपाली कांग्रेस झापाको कार्यालय बन्द रहने र तीन दिनसम्म झण्डा झुकाउने पार्टी सचिव हुमागाँईले जानकारी दिए ।
Discussion about this post