झापा । झापाको बाह्रदशी गाउँपालिका–६स्थित श्रीगौरीशङ्कर शिवालय गायत्री स्वरुपा आश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना हुने भएको छ । बालाचतुर्दशीको अवसर पारेर आगामी मंसीर १८देखि २६ गतेसम्म श्रीमद्भागवत धनधाञ्याचल राष्ट्र शान्ति महामहोत्सव आयोजना गरिने सोमबार पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको हो ।
ऐतिहासिक तीर्थस्थल कञ्चनगढ धाम साधुकुटीलाई राष्ट्रस्तरीय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महामहोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक ज्ञानु सुवेदीले जानकारी दिए । उक्त महोत्सवमा हुने महापुराणको प्रमुख कथावाचकका रुपमा ईश्वरकृष्ण महाराजजी रहने संयोजक सुवेदीले बताए । यसअघि २३ औं पटक धार्मिक अनुष्ठान सम्पन्न भइसकेको छ ।
लामो समयदेखि आयोजना गरिदै आएको कञ्चन जलढाला धार्मिक मेला महामहोत्सवको अर्को आकर्षण रहेको छ । पुरातात्विक महत्व बोकेर पनि ओझेलमा परेको यो क्षेत्रको विविधता उजागर गराउन यस महापुराणले महत्वपूर्ण भूमिका खेल्ने पुराण व्यवस्थापन समितिका सहसंयोजक जीवन पनेरुले बताए ।
आयोजक समितिका सचिव बेदमणि दाहालले स्वागत गरेको कार्यक्रममा महासचिव पुष्प भट्टराईले गुरुकुलको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्र खरेलले गरेका थिए । महोत्सव सम्पन्न गर्न १ हजार १ मूलआयोजक समिति र १ सय ५१ वटा क्षेत्रीय उपसमिति गठन गरिने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । महोत्सवको प्रचारका लागि १७ गते जिल्ला व्यापी मोटरसाइकल र्याली र उद्घाटनको दिन बिहान विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीसहित १ हजार भन्दा धेरैजनाको सहभागितामा शोभायात्रा आयोजना गर्ने आयोजकको तयारी रहेको छ ।
Discussion about this post