दिलकुमार लिम्बू/रासस
ताप्लेजुङ/ ताप्लेजुङ ग्रामीण क्षेत्रमा ठुलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
मैवाखोला गाउँपालिका–६ फा गुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ । पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् । शेर्पाले भन्नुभयो, “खर्च कटाएर वर्षको रु दुईदेखि तीन लाखसम्म कमाउँदै आएको छु ।” उहाँका अनुसार मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित अल्लोको कपडा गाउँमै खपत हुँदै आएका शेर्पाको भनाइ थियो । उहाँले सरकारी कार्यालयमासमेत बिक्री हुने गरेको बताउनुभयो ।
फुङ्लिङ नगरपालिका–१० का आशा लिम्बू विगत १५ वर्षदेखि अल्लो प्रशोधन तथा धागो उत्पादन र कपडा बुनाई लाई मुख्य पेशाकारुपमा अङ्गाल्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको कपडा बिक्री गर्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अल्लोको कपडा बिक्री केन्द्रसमेत स्थापना गर्नुभएको छ ।
केन्द्रमा उहाँले कपडालगायत अल्लोका सामग्री बिक्री गर्दै आउनुभएको छ । लिम्बू ताप्लेजुङको अल्लो कपडा प्रशोधन तथा कपडा बुनाईकन लागि प्रशिक्षकसमेत हुन् । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ–१० वडाको समन्वय तथा रेडपाण्ड नेटवक, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिमको प्रशिक्षकका रूपमा अहिले लिम्बूले काम गर्दै आउनुभएको छ ।
फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मञ्चले जनाएको छ । तालिमका लागि रुपा लिङ्देन काखमा सानो नानी बोकेर आउँदै हुनुहुन्छ । उहाँ जस्तै चन्द्रकुमारी केदेम पनि सानो नानीसँगै तालीममा सहभागी भएर कपडा बुन्न सिक्दै हुनुहुन्छ । कदमले भन्नुभयो, “आफ्नो गोजीमा पैसा भएको र अरूको गोजीमा पैसा भएको नमिल्दो रहेछ ।
त्यसैले आफ्नै गोजीमा पैसा ल्याउनका लागि सीप सिक्न थालेको छु ।” केदेम र लिङ्देनसहित १७ जना महिला एक महिनादेखि आम्दानीको स्रोत बढाउन तालिम लिँदै आएका छन् । तालिम थप एक महिनासम्म सञ्चालन हुनेछ । सीप सिकेर आफैँ उद्यमी बन्ने योजना रहेको मिलन लिम्बूले बताउनुभयो ।
उहाँहरूलाई तालिम पछि व्यावसायिक बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख भीमा देवी ओझाले बताउनुभयो । अल्लोको उत्पादनलाई व्यावसायिक बनाउन सके ताप्लेजुङको मौलिक उत्पादनका रूपमा विश्वभर पठाउन सकिने उहाँको भनाइ थियो । भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ता चप्पल, कोट पाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन् ।
अल्लोको माग राम्रो रहे पनि मागअनुसार उत्पादन हुन सकेको छैन । अल्लोको प्रचुर सम्भावना भएकाले उद्योग स्थापना आवश्यक रहेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख युवराज घोराइसाइनेले बताउनुभयो । उहाँले जिल्लामा अल्लो उद्यमीले राम्रो आयआर्जन गर्दै आएका बताउनुभयो । पछिल्लो समय स्थानीय स्तरबाटै अल्लोको क्षेत्रमा काम गर्ने प्रस्ताव आउन थालेको उद्योग कार्यालयले जनाएको छ । अल्लोबाट उत्पादन हुने कपडा विदेशीले पनि मन पराएकाले विदेशसमेत निर्यात हुने गरेको घोराइसाइनेले बताउनुभयो ।
अल्लोका सामान स्वदेशमै धेरै खपत हुने उद्यमीको भनाइ छ । जाडो याममा न्यानो र गर्मीमा चिसो हुने कपडाको माग बढ्दो छ । गाउँघरमा खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग सञ्चालन गर्न सके यसको प्रवर्धन भई रोजगारीको अवसर सिर्जना हुने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । उहाँका अनुसार व्यावसायिकीकरण अल्लोको कपडा उत्पादन गर्नका लागि कच्चापदार्थको आवश्यक पर्दछ । वनजङ¬्गलमा पाइने अल्लोलाई संरक्षण गर्दै व्यावसायिकीकरण यसको खेती गर्न उद्यमीलाई आवश्यक तालिम तथा प्राविधिक सहयोग गर्ने मञ्चको योजना छ ।
अल्लो के हो ?
वनस्पति विभागका अनुसार अल्लो बहुउपयोगी वनस्पति हो । वनस्पतिको नरम मुना, पात, बोक्रा र जराका भाग निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग हुँदै आएको छ । अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रूपमा लिने गरिन्छ । यस्तै यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी मान्ने गरिन्छ ।
तन्त्रमन्त्र धारीले डमरु बनाउँदा पनि अल्लोको धागो प्रयोग गर्दछन् । परम्परागतरुपमा जनजातिले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लोको परिभाषा अहिले परिवर्तन भएको छ । जङ्गलमा पाइने अल्लो सङ्कलन गरेर अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेको छ । करिब एक हजार पाँच सयदेखि तीन हजार मिटरसम्मको उचाइका जङ्गलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगले पनि गर्न थालेका छन् । अल्लोका कपडा देश विदेशमा माग बढ्दै गएको छ ।
ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पाइने अल्लोको सदुपयोग हुन थालेको छ । जङ्गलमा पाइने भएकाले स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो स्रोत बन्दै गएको छ । स्थानीय महिलाको आम्दानीको स्रोत बढाउन र स्वरोजगार बन्नका लागि अल्लोसम्बन्धी ताप्लेजुङमा तालिम सञ्चालन हुँदै आएको छ ।
Discussion about this post