बेलबारी (मोरङ)
‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ’ मोरङको बेलबारी १० का तेजबहादुर दाहाल हात्ती समस्याका कारण प्रताडीत हुनुपरेको दुःख सुनाउनुअघि नै भन्छन् ।
आफूहरू हात्ती समस्याका कारण रातभर सुत्न नपाएको, त्रासमा बस्नुपरेको र ज्यानै जोगाउन मुस्किल भइरहेको उनको भनाइ छ । ‘साँझमा खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाल्यो, हामीले भागेर ज्यान बचायौँ’। उनले भने ।
पछिल्लो केही सातायता सुनसरी, मोरङ र झापामा हात्तीका बथानले मानिसको ज्यानै लिन थालेपछि मानिसहरू चिन्तित बन्न थालेका छन् । पछिल्लो दिनमा मोरङको बेलबारीस्थित भाउन्नेका स्थानीयबासी हात्तीबाट पीडित बनेका छन् ।
साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथान देखी भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको स्थानीयबासीको भनाइ छ । दुई दर्जन बढीको संख्यामा आएका हात्तीको बथान मानव बस्तीमा पस्न थालेपछि त्रसित हुनुपरेको स्थानीयबासी बताउँछन् ।
स्थानीय रवीन निरौला र तीर्थबहादुर दाहालको घरमा बिहीबार राति हात्तीले क्षति पु¥याएको छ ।
बेलबारी वडा नम्बर ८ र १० मा मात्रै बीसौँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पु¥याएको बेलबारी १० का वडाध्यक्ष गङ्गाबहादुर याखाले बताए । केही दिनदेखि दैनिक रूपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी साथै स्थानीयले प्रयास गरिरहेको उनको भनाइ छ ।मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेका कारण यहाँ हात्तीको बथान आउने उनले बताए ।
यहाँका स्थानीयले मकै र केरालाई नगदे बालीको रूपमा आफ्नो मुख्य आम्दानीको श्रोत मान्ने गरेको बेलबारी १० भाउन्नेका अशोक कुमार सुब्बा बताउँछन् ।
बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्टा जमिनको मकै जङ्गली हात्तीले सखाप बनाएको सुब्बाको भनाइ छ ।
झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।
गत मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्से दुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
यस्तै, मङ्सिर १३ गते राती सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी २ का रवीन खड्काको मृत्यु भयो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले कुल्चिएको थियो ।
मङ्सिर १५ गते झापाको हल्दिबारी ३ स्थित रण काली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो ।
मङ्सिर १८ बिहान मात्रै मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ ३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी १० भाउन्नेमा जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
कोसी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई साता अघिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन छ ।
हात्तीले किन आक्रमण गर्छ?
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्ती ‘इगो’ लिने जनावरभित्र पर्छ । हात्तीलाई जिस्काउनु र ढुंगामुढा गर्नु हुँदैन । यसो ग¥यो भने आक्रमण गर्न सक्ने गौतम बताउँछन् । ‘समूहमा आएको हात्ती केही समय बस्छन् र केही समयभित्रै जताबाट आएको त्यतै जान्छन्,’ गौतमले भने, ‘जंगलमा खानेकुरा नभएकाले हात्ती गाउँ छिरेको हो ।’
उनका अनुसार हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउँछ । त्यसैले पनि हात्ती बस्तीमा छिरेको हुनसक्ने उनको आकलन छ । ‘होहल्ला नभएको अवस्थामा हात्ती फर्किन्छ । तर खानेकुरा भेटेर यतै रमाउँदा समस्या पनि हुन सक्छ । हात्तीलाई जिस्काउने र ढुंगामुढा गर्ने गर्नु हुँदैन । उसलाई चोटपटक लाग्यो भने ज्यानै लिन पनि सक्छ ।’ उनले भने ।
हरेक वर्ष भारतबाट हात्तीको बथान नेपाल आउने गरेको जानकारहरू बताउँछन् ।
Discussion about this post