ताप्लेजुङ / ताप्लेजुङस्थित नेपाल नेत्र ज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभात फेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औँ स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभात फेरी गरिएको हो ।
स्थापना दिवस अर्थात् रजत महोत्सव मनाउन तीन दिने कार्यक्रम आयोजना गरिएको र कार्यक्रमको पहिलो दिन आइतबार आँखा सचेतनासम्बन्धी प्रभात फेरी गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिए । प्रभात फेरी फुङ्लिङ बजारको तोक्मेडाँडाबाट सुरु भई नगर परिक्रमा पछि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा समापन गरिएको छ ।
उपसभापति अधिकारीका अनुसार रजत महोत्सवको दोस्रो दिन सोमबार औपचारिक कार्यक्रम हुने छ । नेत्र ज्योति सङ्घले प्रकाशन गरेको ‘ज्योति स्मारिका २०८०’ को विमोचन, शुभकामना आदान–प्रदान, सम्मान तथा प्रशंसा पत्र र कदर पत्र वितरण, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधि हुने उनले जानकारी दिए ।
नेत्र ज्योति सङ्घ ताप्लेजुङको रजत महोत्सवकै कार्यक्रमअन्तर्गत मङ्गलवार फुङ्लिङमा नेपाल नेत्र ज्योति सङ्घ, कोसी प्रदेश समितिको दोस्रो अधिवेशनसमेत हुने सङ्घका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिए । मानव स्वास्थ्यअन्तर्गत आँखाको क्षेत्रमा काम गरिरहेको संस्था नेपाल नेत्र ज्योति सङ्घको ताप्लेजुङ शाखा २०५५ सालमा स्थापना भएको हो ।
Discussion about this post