इलाम पुस / लामो समय देखी ठुला प्रतियोगिता सञ्चालन नभएको इलामको ठुलो टुँडिखेलमा इलाम गोल्ड कपको तयारी गरिएको छ । दर्शक बस्नकै लागि यहाँ अस्थायी प्याराफिट निर्माण गरिँदै गरिएको छ ।
ठुला प्रतियोगिता सञ्चालन भएर पनि चर्चामा रहेको इलामको ठुलो टुँडिखेलमा स्थायी प्याराफिट नहुँदा प्रतियोगितामा हुनु अघि अस्थायी प्याराफिटमा मोटो रकम खर्च गरिरहनु पर्ने बाध्यता रहँदै आएको छ ।
हाल यहाँ बाँसबाट अस्थायी प्याराफिट निर्माण गरिँदै गरिएको छ । प्याराफिट निर्माण र मैदा मर्मतमा मात्र दश लाख खर्च लाग्ने आयोजक रेडहर्ष फूटबल क्लवका सचिव प्रकाश घिमिरेले बताए ।
यस मैदानमा आगामी माघ ६ देखि १३ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्ड कप’ हुँदै छ । गोल्ड कप सञ्चालनका लागि चार हजार दर्शक बस्ने अस्थायी प्याराफिट निर्माण गरिँदै छ ।
टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम भइरहेको छ । एक भागमा दर्शक बस्न अस्थायी रूपमा नै व्यवस्था गरिएको छ ।
रेडहर्ष फूटबल क्लबले आयोजना गरेको प्रतियोगितामा भारत सहित नेपालका विभिन्न आठ वटा फुटबल टिमहरू आउने पक्का भएको आयोजक समितिका निरोज खड्गीले बताए । उनका अनुसार यस प्रतियोगिताले इलामलाई चलायमान गराउने अपेक्षा लिइएको छ ।
खेल पर्यटनको विकास सहित स्थानीय स्तरमा दर्शकहरूले खेलाडीको खेल कौशल नियाल्न पाइने छ । प्रतियोगिताको प्रथम हुने टिमलाई नगद पाँच लाख पाँच हजार सहित नगद ट्रफि र प्रमाण पत्र वितरण गरिने अध्यक्ष साङ्गे यल्मुले बताए ।
त्यस्तै दोस्रो हुने टिमलाई नगद तीन लाख सहित ट्रफि मेडल र प्रमाण पत्र वितरण गरिने जनाइएको छ । उत्कृष्ट, गोल रक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार प्रदान गरिने जनाइएको छ ।
इलाम सदरमुकाममा यस अघि माई भ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सञ्चालन हुँदै आएको थियो । छैटौँ संस्करणपछि सो प्रतियोगिता सञ्चालन हुन सकेको छैन । सो प्रतियोगिता सञ्चालन नभएपछि इलाम गोल्ड कपको तयारी गरिएको हो ।
धेरै खेलाडी यस मैदानमा नै खेलेर अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्न पुगेका छन् । तर मैदानको स्तर उन्नतिका लागि खासै पहल भएको पाइँदैन । मैदानलाई व्यवस्थित सहित स्थायी प्याराफिट निर्माणमा समेत सम्वन्धित निकायले चासो देखाउन आवश्यक छ ।
तस्विरहरु : टीका खतिवडा
Discussion about this post