काठमाडौँ । राष्ट्रियसभाको चुनावमा प्रतिपक्षी एमालेलाई पनि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले गठबन्धनमा असन्तुष्टि देखिएको छ।
बिहीबार बिहान सिट बाँडफाटका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि समावेश गरेर जाने प्रस्तावको विरोध भएको हो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंलबारको गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको चुनावमा आफ्नो दललाई शून्य नबनाउ आग्रह गरेको ब्रिफिङ गरेका थिए।
आउँदो माघ ११ गते १९ सिटका लागि हुने चुनावमा गठबन्धन दल मिल्दा एमालेका एक जना पनि उम्मेदवारले जित्ने अवस्था छैन। फागुन २० गते एमालेबाट निर्वाचित ९ जना पदमुक्त हुँदैछन्। ९ जना पदमुक्त हुँदा गठबन्धनका कारण एक सिट पनि नआउने भएपछि एमाले नेतृत्वले आफूलाई शून्यमा नपार्न आग्रह गरेको हो।
प्रचण्ड एमालेलाई समेत सिट दिएर जान तयार भए पनि गठबन्धनका अरु घटकहरुले नमान्दा बिहीबार बिहानको बैठक निष्कर्षविहीन भएको छ।
एमालेलाई सिट दिने विषयमा एकीकृृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फरक मत राखेको बालुवाटार स्रोतले बतायो।
तर अध्यक्ष नेपालले भने छलफल जारी नै रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनमा आबद्ध दलबीच छलफल चलिरहेको छ। हामी बिहान बस्यौैँ। फेरि पनि बस्छौँ।’ कांग्रेस र जसपा पनि एमालेलाई सिट दिएर जाने विषयमा इच्छुक देखिएका छैनन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि दलहरु आन्तरिक छलफल गरेर पुन बस्ने बताए। बैठकपछि उनले भने, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ। मूलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ। थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ।’
Discussion about this post