इटहरीका एक व्यक्ति घर निर्माण गरिदिन्छु भन्दै पैसा लिएर फरार भएका छन् । इटहरी ५ खेतिखोला निवासी चेतनाथ खतिवडाको घर निर्माण गरिदिने सम्झौता गरि सोही स्थानका समिर सुब्बा निर्माण कार्य अपुरो रहदै पैसा लिएर फरार भएका हुन् ।
२०७७ साल चैत १ गते घर निर्माण गर्ने बिषयमा खतिवडा र सुब्बा बिच लिखित सम्झौता भएको थियो । १३ लाख लागतमा निर्माण सम्पन्न गर्ने सहमति सहित श्रीमति अनु अधिकारी खतिवडाको नममा सम्झौता गरिएको पिडित खतिवडाले प्रदेश खवरलाई जानकारी दिए ।
“सम्झौता गरेकै दिन पेश्की स्वरुप नगद रु ९ लाख ५० हजार रुपैयाँ मैले निज सुब्बालाई बुझाएको थिएँ । त्यसको २ महिना पछि पून: २ लाख दिएको थिएँ” पिडित खतिवडाले प्रदेश खवरसँग भने । पिडित खतिवडाका अनुसार १० हजार रुपैयाँ बैना गर्दा नै सुब्बाले लिएका थिए ।
“छिमेकी त्यसमा पनि आफ्नै साथीको छोरा भएका कारण अहिले सम्म चुप लागेँ, तर कति सहनु ? मैले धेरै पटक सम्पर्क गर्न खोजेँ, फोन उठाउदैन, नम्वर परिवर्तन गरिरहन्छ भागेको भागै गर्छ”, खतिवडाले भने । खतिवडाका अनुसार घरमा सुब्बाकी आमामात्रै रहेको र आमालाई भन्दा, छोराले आफुलाई केही पनि नसुनाएको र लामो समय देखि छोरा घर नै नआएको जवाफ दिने गरेकी छन् ।
“कति दिन पर्खिएर बस्नु ? अत्तोपत्तो छैन, त्यसैले आफ्नै पैसा लगाएर घर निमार्ण गरिसकेँ” खतिवडाले भने । सुरुसुरुमा घर वा जग्गा बेचेर भए पनि सम्पूर्ण पैसा चुक्ता गर्छु भन्ने गरेको खतिवडा बताउछन् । “अहिले न घर बेच्छ, न जग्गा बेच्छ, मेरो पैसा पनि दिदैन,भागेरै हिडेको छ” । यता सोही स्थानका सन्तोष न्यौपाने पनि सुब्बाबाट पिडित बनेका छन् । न्यौपानेबाट ८ लाख लिएकोमा ५ लाख भने असुल गरेको न्यौपानेले बताए ।
न्यौपानेका अनुसार त्यस पछि भने सुब्बा आफुबाट लुकिछिपी हिडिरहेकोमा एक्कासी बलियामा भेट भएको र छुट्टा छुट्टै मितिमा २ लाख र १ लाख ५० हजारको चेक दिएको थियो । न्यौपाने भन्छन् “२०७९ साल ९ महिना २० गतेको मितिमा २ लाख र २०७९ साल ११ महिना २० गतेको मितिमा १ लाख ५० हजारको एन सि सि बैंकको चेक दिएको थियो । उस्ले दिएको मिति अनुसार चेक लिएर बैंक जादा खातामा पैसा नै रहेनछ ।”
चेतनाथ खतिवडाका अनुसार अन्य केही व्यक्तिहरु पनि सुब्बाबाट पिडित बनेका छन् । निज समिर सुब्बालाई प्रदेश खवरले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
Discussion about this post