इलाम- इलामको माई नगरपालिकामा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगूका अनुसार माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेका हुन् ।उनले खुकुरी प्रहार गरी छोराको हत्या गरेका हुन् ।
सोमवार बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा आज विहान ३ः२० बजे उनको मृत्यु भएको हो ।
जीवन कक्षा ११ मा अध्ययन गर्ने गर्दै थिए । उनी दिलकुमारका एक्लो छोरा थिए । घटनापछि मंगलवार बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय पत्रकार बुद्धराज योङहाङले जनाएका छन् ।
घटनाको जानकारी हुनासाथ प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिए ।
Discussion about this post