बेलबारी । बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवक मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बालिकालाई बलात्कार गरेको घटनामा संलग्न सुन्दरहरैँचा नगरपालिका–९ का २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति पक्राउ गरिएको हो ।
घरबाटै पक्राउ परेका बर्देवाले बिहे गर्ने प्रलोभन देखाएर १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालको भनाइ छ ।
प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मङ्गलवार अदालतबाट म्याद थप गरेको छ । पीडितकी दिदीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका बर्देवामाथि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डिएसपी दाहालले दिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेजबहादुर दाहाल नेतृत्वको टोलीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बर्देवाले पछिल्लो पटक गत शुक्रवार साँझ बालिकालाई जबरजस्ती आफ्नै घरमा लगेर बलात्कार गरेको खुलेको छ ।
विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गर्दा खोज्दा बालिकाले प्रतिकार गरेको र त्यस क्रममा उनीमाथि कुटपिटसमेत भएको पाइएको डिएसपी दाहालले बताए ।
उनका अनुसार कुटपिट गरेर र यातना दिएर बलात्कार गरी विभिन्न डर तथा धम्कीसमेत दिएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई नसुनाएको पाइएको छ । पछिल्लो समय बालिकाकी दिदीले थाहा पाएपछि घटना प्रहरीसम्म पुगेको हो ।
दाहालका अनुसार बर्देवाले करिब ३ महिनादेखि बालिकालाई बारम्बार बलात्कार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिट र यातना भोग्दै बारम्बार बलात्कृत भएका कारण विक्षिप्त बनेकी बालिकालाई ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको उनको भनाइ छ ।
‘बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि बर्देवाले कुटपिट गर्ने र यातना दिने गरेको पाइयो,’ दाहाल भन्छन्, ‘यातना खेप्दै पटक–पटक बलात्कृत भएपछि मानसिक रूपमा केही विक्षिप्तजस्तो देखिएकी पीडितलाई आवश्यक ‘काउन्सिलिङ’ समेत गर्ने काम भइरहेको छ ।’
Discussion about this post