विराटनगर । सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले विभिन्न अभियान चलाएको छ ।
ट्राफिकले सवारी चालकदेखि पैदल यात्रुसम्मलाई सडकमै प्रशिक्षण दिनेदेखि सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने स्टिकर) टाँस्नेलगायतका अभियान सुरु गरेको हो ।
त्योसँगै दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गर्ने, शैक्षिक संस्था एवं सार्वजनिक स्थलमा विभिन्न खाले सचेतनामूलक कार्यक्रम चलाउने र सडक प्रयोगकर्ता एवं चालकलाई भेला जम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिने लगायतका काम ट्राफिक प्रहरीले गरिरहेको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले चिसो बढेर बाक्लो हुस्सु लाग्न सुरु भएसँगै सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गरिएको बताए ।
टल्किने स्टिकर रिफ्लेक्टरले हुस्सु लागेका बेला र रातको समयमा प्रभावकारी काम गर्ने तथा दुर्घटना न्यूनीकरणका मद्दत पुग्ने उनको भनाइ छ ।
हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न ग्रामीण एवं सहरी क्षेत्रलाई लक्षित गरेर सवारीसाधनमा ‘रिफ्लेक्टर’ टाँस्ने अभियान सञ्चालन गरिएको न्यौपानेले बताए ।
विराटनगरको हाट खोला, बसपार्क, रानी, कञ्चनबारी, पुष्पलाल चोक, तीनपैनीसहित मोरङको बूढीगंगा, गछिया, विराटचोक, बेलबारी, केराबारी, पथरीशनिश्चरे, उर्लाबारी, सिजुवा, रङ्गेली, कर्सियालगायत दर्जन बढी स्थानमा एकै पटक अभियान सञ्चालन गरिएको जानकारी उनले दिए ।
‘हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्दा दुर्घटनाको जोखिम कम हुन्छ,’ न्यौपानेले भने, ‘त्यही भएकाले ठेला, रिक्सा, सिटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा टल्किने स्टिकर लगाउन थालिएको हो ।’
बूढीगंगास्थित ट्राफिक प्रहरी पोस्ट नेमुवाका इन्चार्ज एवं असई ९प्रहरी सहायक निरीक्षक० तुलामणि आचार्य हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुने बताउँछन् ।
टल्किएर परबाटै प्रस्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटनाको जोखिम कम हुने उनको भनाइ छ । दुर्घटना रोक्न मौसम अनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने गरेको जानकारी आचार्यले दिए ।
मौसमको प्रतिकूलताका कारण असहज हुने सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षणसमेत दिने गरिएको ट्राफिक प्रहरी पोस्ट उर्लाबारीका इन्चार्ज एवं असई किशोर निरौलाले बताए ।
गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको उनको भनाइ छ ।
बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको निरौला बताउँछन् । सवारीसाधनमा ‘वाइपर’को प्रयोगमा समेत जोड दिने गरिएको उनले बताए ।
हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन सबैमा अनुरोध गर्ने गरिएको विराटनगरस्थित ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्ज एवं असई मोतीराज दाहालले बताए ।
हुस्सु लाग्ने क्रम बढेसँगै सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्ने कार्यलाई तीव्र पारेर सवारी चालक तथा सडक प्रयोगकर्तालाई आवश्यक प्रशिक्षण दिन थालिएको उनको भनाइ छ ।
ट्राफिकका इन्स्पेक्टर न्यौपाने रातको समय र हुस्सु लागेका बेला अगाडि नदेखिने हुँदा अन्य सवारीसाधन ठोक्किएर दुर्घटना बढी हुने गरेको बताउँछन् । कुनै उज्यालो पर्नासाथ टल्कने ‘रिफलेक्टर’ सवारीसाधनमा राख्दा दुर्घटना रोक्न मद्दत पुग्ने उनको भनाइ छ ।
‘रिफ्लेक्टर’ टल्किने हुँदा पछाडिबाट आउने सवारी साधनले राम्रोसँग देख्ने र ठोक्किएर दुर्घटना हुन नपाउने न्यौपानेले बताए ।
उनका अनुसार सवारी दुर्घटना रोक्नका लागि चालक, पैदल यात्रु, विद्यार्थी तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने क्रमलाई तीव्र पारिएको छ ।
‘पैदल यात्रुलाई बाटो काट्ने तरिका सिकाउँदै चालकलाई तीव्र गतिमा सवारीसाधन सञ्चालन नगर्न सचेत गर्ने गरिएको छ,’ उनले भने, ‘साथै सचेतनामूलक कार्यक्रम र ट्राफिक कारबाहीलाई तीव्र पारिएको छ ।’
अहिले मोरङ ट्राफिकको प्राथमिकतामा सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउने, चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाई बुझाई गर्ने, दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गर्ने, शैक्षिक संस्था एवं सार्वजनिक स्थलमा विभिन्न खाले सचेतनामूलक कार्यक्रम चलाउने र चालक तथा सडक प्रयोगकर्तालाई भेला जम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिनेलगायत छन् ।
नियम उल्लङ्घन गर्ने र सम्झाई बुझाई गर्दा पनि अटेर गर्ने सवारीका चालकलाई भने ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सई (प्रहरी नायव निरीक्षक) सुन्दरश्याम पोखरेलले बताए ।
Discussion about this post