निशा राई
धरान । धरान बास्केटबल सङ्घको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा माघ १ किरात संवत् ५०८४ को अवसर तेस्रो यले दोङ थ्री वाइँ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै किराँतहरूको नयाँ वर्ष ५०८४ लाई भव्यताका साथ मनाउनका लागि आयोजित प्रतियोगिता पौष २८ गते धरानको भानुचोकमा हुने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।
माघ १ गतेलाई किराँतीहरूले किराँत संवत् नयाँ वर्ष यले दोङको रूपमा मान्दै आइरहेको उनले बताए । केही दिनपछि आउन लागेको माघ १ गते देखि किरात संवत् ५०८४ मा प्रवेश गर्नेछ ।
गत दुई वर्ष अघि देखि किरात नयाँ वर्षको अवसरमा बास्केटबल प्रतियोगिताको आयोजना हुँदै आइरहेको आयोजकले जनाएको छ । पहिलो संस्करण किराया सुनसरीले आयोजना गरेको थियो भने दोस्रो संस्करणमा भने धरान बास्केटबल सङ्घले अन्तर कलेज महिला बास्केटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
किराँत नयाँ वर्षलाई थप भव्यता बनाउन यस वर्ष देखि भने खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।
यसले युवाहरूमा धार्मिक, सांस्कृतिक र आफ्ना पिता पुर्खाले मान्दै आएको परम्पराको विषयमा चेतना वृद्धि सङ्गै बास्केटबल खेलको विकासमा सहयोग पुग्ने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुबेदीले जानकारी दिए ।
प्रतियोगिताका महिला पुरुष विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड विजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष सुबेदीले बताए । प्रतियोगितामा धरान सङ्गै धरान आसपासका जिल्ला तथा क्षेत्र बाट करिब दुई दर्जन टिमले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घको रहने छ ।
Discussion about this post