विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा तीन स्थानीय तहका प्रमुखले मतदान गरेनन् । मतदान नगर्नेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार र झापा गाउँपालिका प्रमुख जयनारायण साह रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
धरानका साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । कांग्रेसबाट निर्वाचित झापा गाउँपालिकाका अध्यक्ष साह अख्तियारमा मुद्दा परेपछि निलम्बित छन् भने ग्रामथानका गच्छेदार बिरामी भएका कारण मतदानमा उपस्थित हुन सकेनन् ।
कोशी प्रदेशमा स्थानीय तहका २ सय ७४ जना प्रमुख/उपप्रख मध्ये २ सय ७१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत तिर्थ अधिकारीले बताए । उनका अनुसार प्रदेश सभाका सबै सदस्यले मतदान गरे । कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् ।
कोशी प्रदेशबाट अन्यमा एक र महिलामा एक गरी दुई जनाका लागि मतदान भएको हो । त्यसकालागि सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पादेवी कार्की तथा एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुकमणी कोइराला प्रतिष्पर्धी छन् ।
यो प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेश सभा सदस्य छन । त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन् ।
Discussion about this post