विराटनगर । संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या भएको घटनामा संलग्नमध्ये एक जना महिला पक्राउ परेकी छन् ।
घटना भएको २० वर्षपछि संखुवासभाको साविकको शिद्धकाली गाविस–२ (हालको चैनपुर नगरपालिका) की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भएपनि तामाङ फरार थिइन् । सजाय भुक्तान नगरिकन भागिरहेकी उनलाई मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको हो ।
केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । आठ जना मिलेर दुई जना पुरुषको सामूहिक हत्या गरेपछि उनीसहित केही अभियुक्तहरु फरार बनेका थिए । घटनापछि मोरङ झरेकी तामाङ हाल केराबारीस्थित मोहन नेपालको घरमा डेरा बस्दै आएको पत्ता लागेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल र इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सइ विकाश खत्री नेतृत्वको संयुक्त टोलीले तामाङलाई पक्राउ गरेको हो । घटनामा संलग्न तामाङलाई संखुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । अदालतले २०६६ साल फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
मोरङबाट पक्राउ परेकी तामाङलाई बिहीबार संखुवासभाको चैनपुर पुर्याइएको छ । प्रहरीले उनलाई अदालतमा बुझाउने तयारी गरेको छ । प्रहरीले पेस गरेपछि तामाङलाई सजाय भुक्तानका लागि कारागार चलान गरिने संखुवासभा जिल्ला अदालत चैनपुरका स्रेस्तेदार रामचन्द्र केसीले बताए ।
घटना अनुसार संखुवासभाको साविकको शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा पारिवारिक नाता सम्बन्धका ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको छ ।
मंगल र योगेन्द्रको हत्यामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । स्रेस्तेदार केसीले घटनामा संलग्नमध्ये हालसम्म कति जना पक्राउ परेभन्ने खुल्न बाँकी रहेको जानकारी दिए ।
घटनामा संलग्न अन्य अभियुक्तहरु पक्राउ परेका छन् कि छैनन् भनेर बुझ्ने काम भइरहेको उनको भनाइ छ । केसीका अनुसार घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको अदालतबाट १४ वर्षअघि नै फैसला भइसकेको थियो ।
Discussion about this post