इलाम माघ : इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्ड कपको रोचक एवं कडा प्रतिष्पर्धाबीच बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेडले पाँचथर युवा क्लबलाई ट्राई बेकरमा दुईका विरुद्ध चार गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेल समयमा पाँचथर युवा क्लब र बिर्तामोड युनाइटेड दुवै तर्फबाट गोल स्कोर हुन सकेन । दुवै टिमले गोल गर्न पाएको अवसरबाट खेलाडी चुकेका थिए ।
ट्राई बेकरमा बिर्तामोडका दिवस उराउ, प्रदीप बुढाथोकी, राहन कार्की, एञ्जल गुरुङले गोल गरेका थिए । पाँचथर युवा क्लबका साइमान लिम्बु र सुदिप श्रेष्ठले गोल गरे ।
पाँचथरका अशोक खवास र विजु भुजेलको गोल स्कोर हुन सकेन । यस्तै बिर्तामोडका विशाल दर्जीको प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ दी म्याच बिर्तामोड युनाइटेडका संजीत राई भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत १३ गते शनिवार एन आर टी र बिर्तामोड युनाइटेडबीच फाइनल खेल हुने भएको छ । खेल दिउसो दुई बजे हुनेछ ।
एन आर टीले सडन डेथमा आयोजक रेड हर्ष फुटबल क्लबलाई पहिलो सेमिफाइनलमा पराजित गरेको थियो ।
Discussion about this post