विराटनगर । मोरङको ग्रामथान र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा एक जना वृद्धसहित दुई जना पुरुषको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट बुधवार दिउँसो एक जना युवकको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका अन्दाजी २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो ।
पैदल हिँडिरहेका बेला ट्याक्टरले दिउँसो ३ः२५ बजेतिर सरदारलाई ठक्कर दिएको उनको भनाइ छ । इन्स्पेक्टर न्यौपानेले उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो ४ बजेतिर सरदारको मृत्यु भएको जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । ट्याक्टर र चालक बेलबारी नगरपालिका–२ का २६ वर्षीय लक्ष्मण परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलले ठक्कर दिँदा मङ्गलवार साँझ एक जना पैदल यात्री वृद्धको मृत्यु भएको छ । न्यौपानेका अनुसार विराटनगरबाट सुनसरीको दुहबीतर्फ जाँदै गरेको को ३८ प ९९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बूढीगंगा–३ बाँसबारीका ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको हो ।
मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रेग्मीलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साँझ ५ः२५ बजेतिर मृत्यु भएको हो । सडक पार गर्दै पश्चिमबाट पूर्वतर्फ गइरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक दुहबी नगरपालिका–१ का प्रदीपविक्रम साह फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत थिए । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
Discussion about this post