–युवराज गौतम
प्राचीन कालदेखिको जीवन्त ऐतिहासिक पहिचान बोकेको आदिवासी लाप्चा जातिको भिन्न पहिचान छ । चाखलाग्दो र रोचक इतिहास छ । गर्भिलो सांस्कृतिक र मौलिक परम्परा छ । तर लाप्चाहरुको वंश उत्पत्ति र विकास क्रमबारे सत्य, तत्थ्यपरक प्रमाणिक दस्ताबेज भेट्न मुस्किल छ । यद्यपि, यी जाति पूर्वी नेपालको सीमा रक्षाका पहरेदारका रूपमा परिचित छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सूचीकृत यो जाति आदिम कालमा हिमालको काखमा उत्पत्ति भई विस्तार भएको मिथकहरू पाइन्छ । त्यसैले उनीहरूको सम्बन्ध कन्चनजंगा हिमश्रृखंलासँग निकट छ ।
भारतको दार्जिलिङ–सिक्किम र इलामको भारतसँग सिमाना जोडिएको अन्तु, समाल्बुङ, फिक्कल, पशुपतिनगर, गोदक, कोल्बुङ, प्याङलगायतका गाउँहरूमा विशेष बसोबास रहेको पाइन्छ । ती स्थानहरूमा लाप्चाहरुको संस्कार, संस्कृति र पुरातात्त्विक बस्तुहरू प्रशस्त भेटाउन सकिन्छ ।
सोझा र मिजासिलो स्वभावका लाप्चाहरुको संस्कार र संस्कृति पछिल्लो समय पर्यटक भुलाउने गतिलो माध्यम बन्दै गइरहेको छ । उनीहरूको पोसाक, संस्कार, संस्कृति र परिकारहरू पर्यटकका रोजाइमा पर्छन ।
बौद्ध धर्मावलम्बी लाप्चाहरुको जनसङ्ख्या अत्यन्तै न्यून छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लाप्चाको कुल जनसङ्ख्या ३ हजार ५ सय ७८ छ ।
यसमध्ये १ हजार ७ सय ६९ पुरुष र १ हजार ८ सय ९ महिला छन् । २०६८ सालको जनगणनामा कुल जनसङ्ख्या ३ हजार ४ सय ४५ मात्र थियो ।
हालका स्थानीय तहमध्ये सूर्योदय नगरमा सबैभन्दा बढी १ हजार ६ सय ४०, रोङ गाउँपालिकामा ९ सय ९०, माइजोगमाई गाउँपालिकामा १ सय ९६ र इलाम नगरपालिकामा १ सय ५६ रहेको तथ्याङ्क छ ।
इतिहास र प्रमाण
लाप्चा जातिको उत्पत्ति विशेष गरी कञ्चनजङ्घा र अरुण नदीको आसपासमा भएको देखिन्छ । पूर्वी पहाड, पश्चिम बङ्गालको दार्जिलिङ, सिक्किमका कतिपय ठाउँको नाम पनि यीनै लाप्चा जातीको भाषाको आधारमा राखिएको तथ्यहरू भेटिन्छ ।
पूर्वमा अरुण नदी, पश्चिममा पाँचथरको च्याङथापु, उत्तरमा गीपमोची९हाल तिब्बत र चाइनाको बोर्डर र दक्षिणमा तितलिचा (हाल वेस्ट बङ्गाल) साथै यी चार किल्लाभित्रको जमिनको नाम समेत लाप्चा भाषाबाट राखिएको इतिहासकारहरूले बताउने गरेका छन् ।
प्राचीनकामा चार किल्लाको भागलाई ‘मलय ल्याङ’ भन्ने गरेको पाइन्छ । मयल ल्याङमा लाप्चाहरुले नेपाल, तिब्बत, भुटान र इस्ट इन्डिया कम्पनीसँग विभिन्न कालखण्डमा आफ्नो बचाउका लागि युद्ध गरेको प्रमाण पाइन्छ । उक्त ऐतिहासिक प्रमाणले लाप्चाहरुको राजनीतिक सङ्गठन र शासन व्यवस्था भएको पुष्टि हुन्छ ।
लाप्चाहरुले वि.सं. १८८४ देखि वि.सं. २००५ सम्म प्रत्यक्ष रूपमा इलामको प्रशासन चलाएको इतिहास छ । सिक्किमबाट भागेर आएका युक्लाथुपले तत्कालीन नेपाल सरकारबाट ५० नाल बन्दुक सहित बिर्ता लालमोहर र माना चामल लालमोहर प्राप्त गरेको इतिहासमा उल्लेख छ ।
दार्जिलिङ र सिक्किमतिर यस जातिलाई लेप्चा भनेर चिन्ने गरेको भएता पनि नेपालभित्र आफूलाई लाप्चा वा रोङ भन्न रुचाउने गरेका छन् । दार्जिलिङ र सिक्किमतिर ब्रिटिस साम्राज्यकलमा लाप्चा शब्दलाई अंग्रेजी भाषाको प्रभावले लेप्चा उच्चारण गर्न गरिएकाले आजसम्म त्यही प्रचलनमा आएको मानिन्छ ।
पूर्वी इलाममा भेटिने गरेका पुरातात्त्विक र सांस्कृतिक स्थानहरू लाप्चाहरुसँग सम्बन्धित रहेको प्रस्ट बुझ्न सकिन्छ ।
सूर्योदय नगरपालिका भित्र रहेका दुई वटा ऐतिहासिक गुम्बाहरू दुई शताब्दी पुरानो मानिन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने स्थानीयबासी बताउँछन् ।
पूर्व सांसद टीकाराम लाप्चा सुब्बाका अनुसार इलाम सदरमुकाम नजिकै रहेको गोदकको असले खोला किनारमा परापूर्व कालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुङ्गा, जाँतो साथै अन्तुको ज्यूठीमा लाप्चा राजाको वासस्थान छ ।
टीकाराम भन्छन्,‘पुरातात्त्विक महत्वका स्थान बाहेक बाजाहरू–चाप्राजाङ, पन्तोङ पलित, निब्रियो पलित, स्युतपलित, स्युतटोक्रो, टोङबोक, साच्सङ, पटे साथै धार्मिक अनुष्ठानमा प्रयोग गरिने सोङतोङदुर, ग्यालिङ, छदसङ, डमू, डमरु, ऐतिहासिक हातहतियार पुर्खाका प्रमाण हुन् ।’
सरकारी तवरबाट सङ्ग्रहालय निर्माण भई नसके पनि निजी लगानीमा स्वर्गीय जगत बहादुर लाप्चाले अन्तुको आफ्नै घरमा सङ्ग्रहालय बनाएका छन् ।
उनका छोरा उमेशकाजीले उक्त सङ्ग्रहालयको रेखदेख गर्दै आइरहेका छन् । रोङ गाउँपालिकामा त लाप्चा भाषाको पढाइ नै सुरु भइसकेको छ । सङ्ग्रहालय निर्माणको अवस्थामा छ ।
पहिरन र पर्यटन
लाप्चा जातिको आफ्नै पहिरन छ । लाप्चा पुरुषले लगाउने पहिरनलाई ’दमवोन’ तथा महिलाले लगाउने पहिरनलाई ’दमदेन’ भनिन्छ । यी पोसाक लगाएर तस्बिर खिच्न र जातीय संस्कृति बुझन् विशेषगरी तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउने गरेका छन् ।
लाप्चा संस्कृतिको उत्थानमा जुटेका बुद्धकाजी लाप्चाका अनुसार लाप्चा संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गरी प्रचार गर्न सकियो भने पर्यटक तान्न समस्या पर्दैन ।
महिला र पुरुषका पहिरन, बर्सेनि मनाइने ‘नामबुन नामआल’पर्व, पुरुषले लगाउने कालो रङ्गको घुमाउरो टोपी ‘टप्री’, भित्रबाट सेतो रङ्गको कमिज र घुँडासम्मको सुरुवाल ‘तगो’, कमिज बाहिर छिर्के कपडा ’तम्प्रा’, कम्मरमा पेटीजस्तो ’नम्रिक’ कम्मरको एकापट्टि काठको कभरभित्र हतियार ‘वामफोक’, खुट्टामा ’लोम’ अर्थात् जुत्ताले पर्यटकलाई अहिले पनि खुबै तानिरहेको छ ।
त्यस्तै लाप्चा महिलाहरूले बक्खुजस्तै ‘दम्मोन’ साथै दम्मोनसँग चोलीका रूपमा ’तगो’, बर्कोका रूपमा ‘स्याटक’, कान तथा घाँटीमा वेतबाट बनेको माला र टपका रूपमा ’ल्याक’ साथै टाउकोमा सानो कपडाको फेरोले पर्यटकलाई लोभ्याउने गरेको छ ।
धार्मिक एवम् सामाजिक कार्यमा आस्था राख्ने बौद्ध धर्मावलम्बी यी जातीका मानिसहरू अतिथि सत्कार र सौखिन मानिन्छन् । आफ्नै भाषा, भेषभूषा, संस्कृति र संस्कार भएका लाप्चाहरु पहाडी, हिमाली तथा लेकाली क्षेत्रमा बस्न बढी रुचाउँछन् ।
जीवनशैली र संस्कृति
प्रकृति पूजक यी जातिको धार्मिक विशेषता, कलात्मक अतिथि सत्कार, मृदुभाषी शैली, प्रचुर मात्रामा सामाजिक सद्भावना रहेको पाइन्छ ।
कृषि कर्मलाई आफ्नो पुर्खौली पेशा मान्ने गरेका लाप्चाहरु जीविकोपार्जनको लागि आवश्यक हातहतियार, लत्ताकपडा, भाँडाकुँडा, तथा दैनिक उपभोग्य सामग्रीहरू आफैँ निर्माण र उत्पादन गर्ने गरेको प्रमाणहरू भेटाइन्छ ।
उनीहरू पुर्ख्यौली ज्ञान, सिप, भाषा, संस्कार, मौलिक भेषभुषा र सामाजिक जीवनशैलीका कारण स्वावलम्बी र निकै मेहनती मानिन्छन ।
लाप्चाहरुको संस्कार संस्कृति मौलिक र विशिष्ट प्रकारको छ । ‘नामथर’ नामक पुस्तकका आधारमा उनीहरू जन्मदेखि मृत्युसम्मको संस्कार र पूजा गर्छन् ।
उनीहरूमा छोरा वा छोरी जन्मनुमा कुनै फरक वा भिन्न महत्त्व राख्दैन तर पनि छोरी भए तीन दिन अनि छोरा भए पाँच दिनमा सुत्केरी चोख्याउने चलन छ ।
उनीहरूमा परम्परागत विवाह हुँदा केटा वा केटीको व्यक्तिगत इच्छा भन्दा घरायसी आवश्यकतालाई प्राथमिकतामा राखेर अग्रज बुढापाकाहरूको सरसल्लाह बमोजिम गरिन्छ ।
कसैको मृत्यु हुँदा गाउँ ठाउँमा चली आएको रीति अनुसार कतै जलाउने वा कतै जमिनमुनि गाड्ने गरिन्छ ।
मलामी चोख्याउन घेवा गरिन्छ । घेवा परम्पराअनुसार ७ दिन, २२ दिन वा ४९ दिनमा उपयुक्त दिन हेरेर गरिन्छ । उक्त कार्यमा मृतकलाई यावा वा लामाले आफ्नो संस्कार अनुसार विधिपूर्वक बाटो लगाउँछन् ।
लाप्चाहरुका बारेमा खोज अनुसन्धान गर्दै जाँदा थुप्रै अवशेष र प्रमाणहरू फेला पार्न सकिन्छ ।
स्थानीय पालिकाहरूले लाप्चाको अध्ययन अनुसन्धान साथै प्रवर्द्धनात्मक सामग्रीहरू उत्पादन गरी पर्यटक लोभ्याउन सकिने प्रशस्त आधारहरू रहेको स्थानीय पत्रकार तोयानाथ भट्टराईको भनाइ छ ।
सन्दर्भ सामग्री
–‘लाप्चा राजाको मलय ल्याङ’–भट्टराई तोयानाथ(अन्नपूर्ण पोस्ट दैनिक)
–इलामका लाप्चा जाति र स्थान नाम (पुस्तक) प्रस्तोता प्रा.डा नोवलकिशोर राई अनि डा.नेत्रमणि दुमी
राई ।
–आथिङ काजी जगतबहादुर लाप्चा –स्मृति ग्रन्थ (प्रकाशक) काजी जगत बहादुर लाप्चा स्मृति ग्रन्थ
प्रकाशन समिति सम्पादक युवराज गौतम ।
–मुकेश राई इलामका आदिवासी लाप्चा जाति(एभरेस्ट टाइम्स)
Discussion about this post