विराटनगर-विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा उक्त वस्तु फेला परेको हो ।
आँपको रुख र एउटा घरको बीचमा हिजो साँझ उक्त वस्तु फेला परेको थियो । घटनास्थललाई प्रहरीले रातभर सुरक्षा दिएको थियो । घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ ।
शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । सेनाको टोलीसँग समन्वय गरेर डिस्पोजको तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।
सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए ।
निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शंकास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आवद्ध रहेको खुलेको छ । उनीहरुको पूरा विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरी स्रोतले बतायो ।
घटनास्थलमा ‘आर्थिक सहयोग गरिदिनु हुन’ भनेर लेखिएको पर्चा पनि फेला परेको छ ।
मोरङ प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने तयारी गरेको छ ।
Discussion about this post