विराटनगर । बिना प्रतिस्पर्धा मेडिकल अधिकृत भर्नाका लागि विराटनगरको कोशी अस्पतालले अघि बढाएको प्रक्रिया स्थगित गरिएको छ ।
अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा स्वार्थपूर्ण एवं विवादास्पद हिसाबले विज्ञापन गरेर आठौं तहको फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्त गर्न खोजिएको थियो ।
मनोमानी हिसाबले गर्न खोजिएको चिकित्सक नियुक्तिको विषयमा प्रदेश खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन भएसँगै प्रक्रिया हाललाई रोकिएको छ ।
३ जना मेडिकल अधिकृत भर्नाका लागि फागुन ४ गते विज्ञापन गर्दै ७ दिनको छोटो समय दिएर दरखास्त आह्वान गरिएको थियो ।
प्रक्रिया स्थगित गरिएसँगै आफूनिकटलाई करारमा अस्पताल भित्राउन गरिएको चलेखल असफल भएको छ । यसले अस्पताल प्रशासन र विकास समितिलाई झड्का लागेको छ ।
विज्ञापन गरिएको पदमा दरखास्त लिएर अन्तर्वार्ताका भरमा ३ जनालाई सरकारी अस्पतालमा फागुन ११ गते चिकित्सक नियुक्त गर्ने तयारी भएपछि चौतर्फी विरोध भएको थियो ।
विकास समितिको निर्णय र विभागीय प्रमुखको राय एवं परामर्शबिना नै अन्तर्वार्ता मार्फत मेडिकल अधिकृतमा सुटुक्क आफ्ना मान्छेलाई नियुक्ति दिने हिसाबले अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतले चलखेल गरेका थिए ।
अन्तर्वार्ताको मिति र समय फागुन ११ गते बिहान ११ बजेलाई तोकिएको थियो । एउटै सूचनामा ३ वटा अलगअलग विज्ञापन नम्बर राखेर शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएपछि सरोकारवालाले विरोध जनाएका थिए ।
अस्पताल प्रशासनले बुधबार सूचना जारी गरेर प्राविधिक कारणले अन्तर्वार्ता तत्काललाई स्थागित गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको हस्ताक्षर रहेको सूचनामा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उल्लेख छ ।
चौतर्फी विरोधसँगै मनोमानी हिसाबले गर्न लागिएको मेडिकल अधिकृतको नियुक्ति प्रक्रिया स्थगित गर्न अस्पताल प्रशासन बाध्य भएको हो । स्रोतका अनुसार ‘सेटिङ’ मिलाउँदै आर्थिक चलखेल गरेर स्वार्थपूर्ण हिसाबबाट खुला प्रतिस्पर्धाबिना नै आठौं तहका चिकित्सक नियुक्त गर्न खोजिएको थियो ।
अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।
त्यसमध्ये मेडिकल अधिकृतमा ५८, नर्सिङ अधिकृतमा ४३, स्टाफ नर्समा ३ सय ९६, बायोमेडिकल टेक्निसियनमा ७ र फार्मेसी सहायकमा १ सय ४९ जनाको दरखास्त परेको छ ।
तर, भर्नाका लागि परीक्षाको अलगअलग मापदण्ड बनाउँदै अस्पतालले यसअघि गरेको विज्ञापनसमेत रद्ध गर्नुपर्ने आवाज उठिरहेको छ । त्यतिबेला पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने तथा त्योभन्दा माथिको सातौं तहलाई अन्तर्वार्ता मात्रै लिएर नियुक्ति दिने गरी विज्ञापन गरिएको थियो ।
यद्यपि, यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान गरिरहेका छन् ।
अस्पतालले दरखास्तका लागि २१ दिनको म्याद दिएर लिखित र अन्तर्वार्ता दुवैमार्फत १० जना मेडिकल अधिकृतलाई नियुक्त गर्ने गरी माघ ४ गते विज्ञापन गरेको थियो ।
पहिलो विज्ञापन विवादमा तानिएर छानबिनमा परेका बेला फेरि त्यसको ठीक १ महिनापछि मेडिकल अधिकृतलाई अन्तर्वार्तामार्फत नियुक्ति दिने भनेर ७ दिनको मात्रै म्याद दिँदै अर्को विज्ञापन गरिएको हो ।
सिधै अन्तर्वार्ताका भरमा ३ जना मेडिकल अधिकृत राख्न खोजिएसँगै विकास समिति र अस्पताल प्रशासनको काम कारबाही माथि प्रश्न उठेको छ ।
मनोमानी हिसाबले अध्यक्ष र मेसुको मिलेमतोमा एउटै पदका लागि १ महिनाबीचमा अलग अलग विज्ञापन गरेर परीक्षाको मापदण्ड पनि फरकफरक तोकिएपछि अस्पताल प्रशासन तथा समितिले गलत नियम राखेर काम गरिरहेको प्रष्ट भएको थियो ।
कर्मचारी युनियनद्वारा आन्दोलनको तयारी
सरकारी अस्पतालमा बढ्दो बेथिति र नियमविपरीत भइरहेका कामकारबाही विरुद्ध कोशी अस्पताल विकास समिति कर्मचारी युनियनले आन्दोलनको तयारी गरेको छ ।
अस्पताल प्रशासन र विकास समितिका नाममा स्वार्थपूर्ण हिसाबले भइरहेका बेथिति रोक्नुपर्नेलगायतका माग राखेर १७ बुँदे ज्ञापनपत्र बुझाउँदै युनियनले मंगलबार अस्पताल प्रशासनको ध्यानआकर्षण गराएको थियो ।
ध्यानआकर्षणका विषयमा अस्पताल प्रशासनले कुनै प्रतिक्रिया नजनाएर मागलाई बेवास्ता गरेको भन्दै कर्मचारी युनियनले आन्दोलनको तयारी गरेको हो ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा नियमविपरीत र निन्दनीय कार्य भइरहेको ठहर गर्दै युनियनले बुधबार अस्पताल प्रशासनलाई पत्र पठाएर जायज मागको सम्बोधन नहुने हो भने ‘अस्पताल बचाउ अभियान’का लागि चरणबद्ध अन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ ।
पत्रमार्फत युनियनले माग पूरा गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको अल्टिमेटमसमेत दिएको छ । युनियनका अध्यक्ष डा। रोशन खड्काले अस्पताल प्रशासनले माग पूरा नगरेमा सेवाग्राहीलाई असर नपर्ने गरी शुक्रबारबाट चरणबद्ध आन्दोलन सुरु गरिने बताए ।
उनका अनुसार मापदण्डविपरीत कर्मचारी पदपूर्तिका लागि गरिएको तयारी रोक्नुपर्ने, अस्पतालका सबै कामकारबाही नियमसंगत हुनुपर्ने, यसअघि कोरोना महामारीमा दुःख गरेकाहरुलाई चिकित्सक एवं कर्मचारी भर्नामा समेट्नु पर्ने लगायतका माग राखिएको छ ।
त्यस्तै, कर्मचारी नियुक्तिका विषयमा विभागीय प्रमुखसँग सल्लाह गर्नुपर्ने, कर्मचारी भर्नाको मापदण्डमा एकरूपता हुनुपर्ने, दरबन्दीबिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटी रोक्नुपर्ने र प्रभावकारी सेवा सञ्चालनमा ध्यान दिनुपर्नेलगायतका मागहरु राखिएको छ ।
अस्पतालको सेवालाई व्यवस्थित बनाएर आईसीयू, एनआईसीयू तथा एचडीसीयू सञ्चालन गर्नुपर्ने, गुरुयोजनाका आधारमा अस्पतालमा निर्माण तथा मर्मतको काम गर्नुपर्ने, विकास समितिका बैठकहरुमा कर्मचारी युनियनका अध्यक्षको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग आफूहरुले राखेको डा। खड्काले बताए ।
Discussion about this post