इलाम फागुन / पूर्व प्रधानमन्त्री झलनाथ खनालले जन्मस्थल इलामको साँखेजुङमा स्थापना भएको रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयको उद्घाटन गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा खनालले एक सय पाँच रोपनी क्षेत्रमा फैलिएको शिक्षालयको उद्घाटन गरेका हुन् ।
२०७४ सालमा स्थापना भई सञ्चालन भइरहेको शिक्षालयमा पूर्व प्रधानमन्त्री खनालले ६५ रोपनी जग्गा दान गरेका थिए । खनाल सहितका जग्गादातालाई उद्घाटनका अवसरमा सम्मान समेत गरिएको थियो ।
शिक्षालय उद्घाटनका क्रममा खनालले लाखौँ युवाहरू विदेशमा गइरहेको परिप्रेक्ष्य देशमा नै रोजगार सिर्जना गर्न यस किसिमको प्राविधिक शिक्षालयको महत्त्व भविष्यमा अझै बढ्ने बताए ।
उनले उक्त शिक्षालय उद्घाटनको दिन ऐतिहासिक भएको बताए ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले अव प्रविधि तर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । उनले प्राविधिक र व्यावसायिक शिक्षा विद्यार्थीहरूले रोज्न थालेकाले यसलाई व्यवस्थित बनाउन लाग्नु पर्नेमा जोड दिए ।
शिक्षालयका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा कोसी प्रदेश सभाषद गोविन्द गिरी, इलाम नगर प्रमुख थापा, प्राविधिक तालिम तथा व्यावसायिक सीप विकास केन्द्र कोसी प्रदेशकी निर्देशक दीपिका शर्मा, इलाम सामुदायिक कृषि क्याम्पसका प्राचार्य डा योगेन्द्रमान श्रेष्ठ, जग्गादाता डा रेस बहादुर बस्नेत, इलाम नगर पालिका वडा एकका वडाध्यक्ष गायत्री बस्नेत समेतका वक्ताले व्यवसाय सिर्जना गरी बेरोजगारी हटाउन सीप विकास केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
शिक्षालयमा वाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ, फार्मेसी, चिया प्रविधि लगायत ६ वटा कार्यक्रम सञ्चालन भइरहेको छ । यहाँ सञ्चालित विभिन्न छोटो अवधिका तालिमबाट पाँच सय प्रशिक्षार्थी लाभान्वित भएको प्रमुख दीपक खनालले बताए ।
शिक्षालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् ।
शिक्षालयमा भौतिक पूर्वाधार अन्तर्गत विभिन्न ६ वटा ब्लक अन्तर्गत भवनहरू निर्माण भइसकेका छन् ।
Discussion about this post