विराटनगर । एम्बुलेन्स अतिआवश्यकीय सवारीसाधन हो । आकस्मिक अवस्थाका बिरामीलाई जतिसक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउन एम्बुलेन्सको प्रयोग गरिन्छ ।
बिरामी बोकेर तीव्र गतिमा दौडनुपर्ने भएकाले पनि एम्बुलेन्सतर्फ सुरक्षा निकायको ध्यान कम जान्छ । अर्थात, सामान्य अवस्थामा सुरक्षाकर्मीले एम्बुलेन्स चेकजाँच गर्दैनन् ।
सुरक्षा चेकजाँच र निगरानीमा कम पर्ने गरेको फाइदा उठाउँदै उदेश्यविपरीत एम्बुलेन्समार्फत लागूऔषध गाँजाको तस्करी हुने क्रम कोशी प्रदेशमा बढेको छ ।
बिरामी ओसारपसारमा प्रयोग गर्नुपर्ने अतिआवश्यकीय सवारीसाधनको दुरुपयोग बढ्नु चिन्ताको विषय भएको सरोकारवालाको भनाइ छ ।
पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने गाँजा पछिल्लो समय एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गरेर तराईतर्फ ल्याउँदै भारत कटाउने गरिएको छ ।
नेपाल तथा सशस्त्र प्रहरीले आइतबार कोशी प्रदेशका अलगअलग जिल्लाबाट ठूलो परिणामको गाँजासहित दुईवटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।
एम्बुलेन्समा लोड गरिएको ३ सय २५ किलोग्राम गाँजा सुनसरी र धनकुटाबाट बरामद भएको छ । सुनसरीबाट सशस्त्र र धनकुटाबाट नेपाल प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।
धनकुटाबाट एम्बुलेन्स चालक पनि पक्राउ परेका छन् । सुनसरीमा भने एम्बुलेन्स चालकसहित गाँजा ओसारपसारमा संलग्नहरु सशस्त्र प्रहरीलाई छलेर भागेका छन् ।
सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २ सय ७३ किलोग्राम गाँजा बरामद गरेको छ ।
९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले आइतबार बिहान गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा को १ च २९३७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको पोखरेलले बताए ।
एम्बुलेन्सलाई नियन्त्रणमा लिनसाथ चालक र गाँजा ओसारपसारमा संलग्न रहेका व्यक्तिहरु भने फरार भएका थिए । गाँजा भारततर्फ लैजाने तयारी गरिएको हुनसक्ने सशस्त्रले जनाएको छ ।
सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । पछिल्लो समय एम्बुलेन्ससहित विभिन्न सवारीसाधनको प्रयोग गरेर गाँजा ओसारपसार गर्ने क्रम बढेको सशस्त्रले जनाएको छ ।
त्यस्तै, एम्बुलेन्समार्फत सुनसरीको धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।
एम्बुलेन्सभित्र गाँजा बरामद भएपछि चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको खापुङले बताए । गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
डीआईजी खापुङले पक्राउ परेका चालक चेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । चेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने उनको भनाइ छ ।
Discussion about this post