विराटनगर । भोजपुरको षडानन्द नगरपालिका घर भएकी सजिना तामाङ अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्डो प्रतियोगितामा भाग लिन मलेसिया जाने भएकी छन् ।
आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नेपालबाट मलेसिया जान लागेका ४ जनामध्ये उनी एक्ली महिला खेलाडी हुन् । दुर्गम गाउँमा जन्मिएकी तामाङले पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् । विगतमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदकहरु जितेकी छन् ।
मलेसियामा यही फागुन १७ गतेदेखि २० गतेसम्म ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ हुँदैछ । त्यस प्रतियोगितामा भाग लिन मलेसियातर्फ जान लागेकी तामाङलाई आइतबार विराटनगरमा बिदाइ गरिएको छ ।
प्रदेश खेलकुद विकास बोर्डमा आयोजित कार्यक्रममा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ ९क०बाट निर्वाचित प्रदेशसभा सदस्य जयप्रकाश चौधरी र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उनलाई संयुक्त रूपमा बिदाइ गरेका हुन् ।
प्रदेश सांसद चौधरीले तामाङलाई जितको शुभकामना दिए । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार लाग्नुपर्नेमा उनको जोड छ । ‘खेलाडीहरुले आफ्नै लगानीमा खेलको अभ्यास गरेर राष्ट्रका लागि खेल्ने गरेका छन्,’ उनले भने, ‘खेल क्षेत्रको विकासमा सरकारसहित सबै पक्षको ध्यान जान जरुरी छ ।’
सदस्य सचिव वाग्लेले प्रदेश सरकार खेल र खेलाडीप्रति उत्तरदायी भएर लागेको बताए । खेलाडीहरु स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिन जाँदा आफ्नो खर्च गरेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘खेल क्षेत्र र खेलाडीको विकासका लागि अब सरकारले विशेष योजना ल्याउनुपर्छ,’ वाग्लेले भने, ‘कुनै पनि प्रतियोगिता खेल्न विदेश जाने खेलाडीको स्रोत सुनिश्चित हुनुपर्छ ।’
प्रतियोगितामा जाने–आउने साथै खाने–बस्ने व्यवस्था राम्रो भएमा खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नसक्ने उनको भनाइ छ । प्रदेश खेलकुद बोर्डले खेल र खेलाडीको प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरुलाई सम्मान गर्ने प्रचलन बसाएको जानकारी वाग्लेले दिए ।
‘देशमै पहिलोपटक हाम्रो प्रदेशका खेलाडीहरुलाई गतवर्ष पदकका आधारमा नगदका साथै सम्मानपत्रले सम्मान गरेका थियौं । धेरै वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेपनि खेलाडीलाई वास्ता गरिएन ।
उनीहरुलाई सरकारकोतर्फबाट हामीले योजना बनाएर नगदसहित सम्मान गरेका हौं । यसले खेलाडीको मनोवल उच्च हुन्छ,’ उनले भने ।
मलेसियामा हुने आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट १ महिला र ३ पुरुष गरेर ४ जना खेलाडीले सहभागिता जनाउने नेपाल अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले बताए ।
खेलाडीहरु सजिना तामाङ, वीरेन्द्र कुँवर, देवेन्द्र सुनार र कैलाश अर्याल मलेसिया जान लागेका हुन् । खेलाडीसहित अम्पायर विक्रम बाठा मगरसमेत मलेसिया जाने जानकारी कार्कीले दिए ।
Discussion about this post