इलाम- इलामका एक दम्पतीले बिहे गरेको २५ वर्ष पछि करिब अढाई महिनाको शिशु पाएका छन् । इलाम माई नगरपालिका १० चिसापानीका ठहरसिंह बस्नेत र उनकी पत्नी विष्णुमाया चौंलागाईंले बिहीबार माईजोगमाईमा फेला परेको शिशु पाएका हुन् ।
बिहे गरेको २५ वर्षमा सन्तान नभएपछि उनीहरूले माईजोगमाईमा फेला परेको शिशु लिन आवेदन दिएका थिए । ११ जना दम्पतीको निवेदन मध्येबाट उनीहरूलाई सो शिशु दिइएको जनाइएको छ । माईजोगमाई गाउँपालिकाका प्रमुख कुशबहादुर थेबे र उपप्रमुख प्रविना राईले उनीहरूलाई शिशु दिएका थिए ।
गएको पुस अन्तिममा माइजोगमाई गाउँपालिका–३को गुप्ती जङ्गल नजिकै रहेको ढुङ्गाको च्यापमा बेवारिसे अवस्थामा शिशु फेला पारिएको थियो । इलाम अस्पतालमा राखेर हेरचाह भइरहेका शिशुलाई कानुनी प्रक्रिया पूरा गरी अस्पतालबाटै धर्मपुत्रका रूपमा बस्नेत दम्पतीलाई प्रदान गरिएको जनाइएको छ ।
बेवारिसे शिशु फेला परेपछि त्यसको कार्यविधि नै निर्माण गरेर पालिकाले काम गरेको माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए । सुरुमा कार्यविधि बनाएको र अदालतबाट समेत सुझाव लिएर कानुनी रूपमा नै शिशु हस्तान्तरण गरिएको उनको भनाई छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रविना राईले शिशुको पालनपोषण र शिक्षा दीक्षा सहित राम्रो हेरचाहका लागि आग्रह गरिन् ।
शिशु लिएपछि ठहरसिंह बस्नेत र उनकी पत्नी विष्णुमाया चौंलागाईंका आँखा खुसीले रसाएका थिए । उनीहरूले राम्रो पालनपोषण र शिक्षामा कमी नदिने बताए । आफ्नै सन्तान जस्तै गरेर राख्ने समेत उनीहरूले बताएका छन् ।
Discussion about this post