विराटनगर । स्वार्थ समूहको कब्जामा रहेको विराटनगरको कोशी अस्पतालमा अन्तरवार्ता मात्रै लिएर चिकित्सक नियुक्त गरिँदै छ ।
खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्नुपर्नेमा अन्तरवार्ताका भरमा ३ जना मेडिकल अधिकृत भर्ना गर्न लागिएको हो ।
अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा आर्थिक लेनदेन गरेर मेडिकल अधिकृत भर्ना गर्न लागिएको अस्पतालका एक चिकित्सक बताउँछन् । मेडिकल अधिकृत भर्नाका लागि गरिएको विज्ञापन र तयारीले पनि त्यसको पुष्टि हुन्छ ।
कोशी अस्पताल कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था हो । पटक पटकको राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबदबाका कारण दिन प्रतिदिन धराशायी बनिरहेको छ । स्वार्थ समूहको कब्जामा रहेको यो अस्पतालमा पछिल्लो समय विकास समिति अध्यक्ष डा. फरवार्ड सिलवाल र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रलाल झाको मनपरी चलिरहेको छ ।
बदमासी गर्दा राज्यले तत्काल कारबाहीको दायरामा ल्याउन नसक्नुको फाइदा सिलवाल र झाले उठाइरहेका छन् । अस्पतालको सबैजसो कामकारबाही नियमपिरीत हुँदा पनि उनीहरूले छुटकारा पाइरहेका छन् । जसका कारण मनोबल बढेर चरम बदमासी गर्न सुरु भएको छ । उनीहरूले पछिल्लो समय मनोमानी हिसाबले मेडिकल अधिकृत भर्ना गर्न खोज्दैछन् ।
अस्पताल प्रशासन तथा विकास समितिको मिलेमतोमा ३ जना मेडिकल अधिकृतलाई आठौँ तहमा भर्ना गर्न खोजिएको हो । मेडिकल अधिकृतलाई ३ महिने सेवा करारमा नियुक्ति दिनका लागि फागुन ४ गतेको मिति राखी ७ दिने सूचनामार्फत दरखास्त आह्वान गरिएको थियो ।
अस्पतालले एमबिबिएस वा सो सरहको उपाधि प्राप्त गरेका फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्टको माग गर्दै शङ्कास्पद एवं विवादास्पद हिसाबले दरखास्त आह्वान गरेको हो । नियुक्तिका लागि अन्तरवार्ता लिनलाई फागुन ११ गतेको समय तोकिएको थियो । सबैतिरबाट विरोध हुन थालेपछि फागुन ९ गते सूचना निकालेर नै भर्ना स्थगित गरियो । त्यही विज्ञापनलाई आधार बनाउँदै ठुलो आर्थिक चलखेल गरेर आठौँ तहका मेडिकल अधिकृत भर्ना गर्न खोजिएको अस्पतालका एक कर्मचारी बताउँछन् ।
मेडिकल अधिकृत भर्नाका लागि शुक्रवार बिहान ११ बजेको समय दिएर अस्पतालले अर्को सूचना जारी गरेको छ । ‘मिति २०८०÷११÷११ गते हुने भनिएको विज्ञापन नं ०७-२०८०-८१, ०८-२०८०-८१ र ०९-२०८०-८१ मेडिकल अधिकृत आठौँ तहको मिति २०८०÷११÷०९ स्थगित सूचना बमोजिम स्थगन गरिएकोमा सो अन्तरवार्ता मिति २०८०-१२-०२ गते बिहानको ११ बजे यस अस्पतालको समीक्षालय भवनमा हुने ब्यहोरा जानकारी गराइन्छ,’ मेसु झाद्वारा जारी सूचनामा भनिएको छ ।
मेडिकल अधिकृत भर्नाका लागि विज्ञापन गरिएपछि फरेन्सिक विज्ञमा १ जना, जनरल सर्जनमा २ जना र माइक्रोबायोलोजिस्टतर्फ १ जनाको मात्रै दरखास्त परेको अस्पतालकी सूचना अधिकारी इन्दिरा यादवले बताइन् । दरखास्त दिएकाहरूको नाम भने उनले उपलब्ध गराउन मानिनन् । ‘म ५ मिनेटमा फोन गरेर नाम दिन्छु है’ भनेर सम्पर्कविहीन बनेकी यादवको त्यसपछि मोबाइल स्वीचअफ भयो ।
मेडिकल अधिकृत भर्नाका लागि गरिएको विज्ञापन र परेको दरखास्तका आधारमा पनि विकास समिति अध्यक्ष डा. सिलवाल र मेसु झाले चलखेल गरेका थिए भनेर बुझ्न गाह्रो छैन । ‘३ जनाका लागि विज्ञापन गरिँदा ४ जनाको मात्रै दरखास्त परेको छ ।
आफूनिकट र लेनदेन भएका बाहेककाले खुला प्रतिस्पर्धामा सहभागी नै नहुन् भन्ने उद्देश्य राखी छोटो अवधिको विज्ञापन गरिएको थियो,’ स्रोतले भन्यो, ‘दरखास्त दिन खोज्नेलाई पनि रोक्ने काम भयो । सीमित सङ्ख्यामा निवेदन लिएर अन्तरवार्ताका भरमा मात्रै नियुक्ति गर्न खोज्नु सरासर गलत हो ।’
स्वार्थ जोडिएकै कारण चौतर्फी विरोध हुँदा पनि मेडिकल अधिकृत नियुक्त गर्न खोजिएको स्रोतको भनाइ छ । ‘पैसा लिएर काम हुँदैछ भन्ने कुरा सबैतिर छरपस्ट छ ।
नियुक्तिका लागि गरिएको तयारीले नै त्यसको पुष्टि हुन्छ,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘विकास समितिका अध्यक्ष र मेसुले सरकारी अस्पताललाई अनेक हिसाबले तहसनहस बनाइरहेका छन् । कारबाही गर्नुपर्ने निकायले चासो नराख्दा उनीहरूले फाइदा लुटिरहेका छन् ।’ पैसा बुझाइसकेकाले पोल खोलिदिने डरका कारण हतारपतार नियुक्ति दिन खोजिएको ती चिकित्सकको दाबी छ ।
अस्पतालका चिकित्सक र कर्मचारीले आर्थिक चलखेल गरेर डा. सिलवालसँग मिलेर डा। झाले मेडिकल अधिकृत नियुक्त गर्न खोजेको बताइरहेका छन् । खुलेआम आर्थिक चलखेल गरेर मेडिकल अधिकृत नियुक्त गर्ने तयारी भइरहँदा पनि सरोकारवाला निकाय मौन हुनु आश्चर्यको विषय भएको एक चिकित्सक बताउँछन् ।
अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौँ तहको १० जना मेडिकल अधिकृत, सातौँ तहको १ जना नर्सिङ अधिकृत, पाँचौँ तहको ३० जना स्टाफ नर्स, २ जना बायो मेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । तर, परीक्षाका लागि अलगअलग मापदण्ड बनाएपछि विरोध भयो ।
त्यति बेला आठौँ तहको मेडिकल अधिकृत, पाँचौँ तहको स्टाफ नर्स एवं पाँचौँ तहको फार्मेसी सहायकमा लिखित र अन्तरवार्ता तथा सातौँ तहको नर्सिङ अधिकृत र पाँचौँको बायो मेडिकल टेक्निसियनमा अन्तरवार्ताका माध्यमबाट मात्रै नियुक्ति दिने गरी विवादास्पद हिसाबले विज्ञापन गरिएको थियो । पाँचौँ तहलाई लिखित र अन्तरवार्ता दुवै लिने गरी दरखास्त आह्वान गरिँदा त्योभन्दा माथिको सातौँ तहलाई अन्तरवार्ता मात्रै लिएर नियुक्ति दिने भनिएको थियो ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान गरिरहेको छ । सञ्चार माध्यमले पटक पटक समाचार लेखेका छन् ।
अख्तियारकै अनुसन्धानमा परेपछि २ महिनाअघि गरिएको विज्ञापनको भर्ना प्रक्रिया रोकिएको छ । तर, अर्को बाटो अपनाउँदै बदमासीपूर्ण हिसाबबाट मेडिकल अधिकृत भर्ना गर्न खोजिएको हो । यसको चौतर्फी विरोध भइरहेको छ । तर, मन खुसी हिसाबले चलिरहेको अस्पताल प्रशासनलाई विरोधले कुनै फरक पारेको छैन ।
यसअघि माघ ४ मा मेडिकल अधिकृतमा २१ दिनको म्याद दिएर दरखास्त आह्वान गरिएको भए पनि अहिले छोटो समय दिएर जारी गरिएको ७ दिने सूचनाका भरमा मेडिकल अधिकृतलाई नियुक्ति दिन खोजिएको छ ।
‘अघिल्लो विज्ञापन नै विवादमा परेको छ । नियुक्तिको प्रक्रिया रोकिएको छ । फेरि विवादास्पद हिसाबले मेडिकल अधिकृत भर्ना गर्न खोज्नुमा बदनियत देखिन्छ । लेनदेन र ‘सेटिङ’मै काम भइरहेको छिपेको छैन,’ ती चिकित्सक भन्छन् ।
स्वास्थ्य मन्त्रालयबाट १२ जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृत भएर आएकोमा २ महिनाअघि १० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको थियो । त्यसको १ महिनापछि ९फागुन ४ मा० विज्ञापन गरेर अहिले पुनः ३ जना मेडिकल अधिकृत भर्ना गर्न खोज्नुले नियतमा खोट लगाउने पर्याप्त आधार रहेको स्रोतको भनाइ छ ।
‘२ महिनाअघि १० जनाको मात्रै विज्ञापन गरियो । अहिले ३ जनाको छुट्टै विज्ञापन गरिएको छ,’ एक कर्मचारी भन्छन्, ‘१३ जना मेडिकल अधिकृत आवश्यक हुँदा एकै पटक किन विज्ञापन गरिएन रु एउटै पदका लागि १ महिनाको अवधिमा अलगअलग विज्ञापन गर्नुको कारण के हो रु’ उनले मेडिकल अधिकृतका लागि १ महिनाको अन्तरमा २१ र ७ दिने सूचना जारी गर्दै अलगअलग मापदण्डको विज्ञापन गरिनु बेइमानी भएको बताए ।
‘मेडिकल अधिकृत कसैलाई अन्तरवार्ता र लिखित तथा कसैलाई अन्तरवार्ताका भरमा मात्रै नियुक्त गर्न खोज्नु सरासर गलत हो,’ उनले भने, ‘यहाँभन्दा ठुलो बदमासी अर्को हुनै सक्दैन ।’ उनका अनुसार कर्मचारी एवं चिकित्सक भर्नाको विषयलाई लिएर अस्पतालका अध्यक्ष र मेसुले मनोमानी गरिरहेका छन् ।
पछिल्लो समय बदमासी गरेर सरकारी अस्पताल सक्नलाई गिरोह नै सक्रिय रहेको उनको भनाइ छ ।
मेसु झा भने सम्पर्कमै आउन चाहँदैनन् । पटक पटक गरेको फोन उनले उठाएनन् । यसअघि कुराकानी हुँदा नियमसंगत नै काम भइरहेको दाबी उनले गरेका थिए ।
Discussion about this post